९५ प्रतिशत घरधुरीमा पुग्यो विद्युत् : विश्व बैंक


काठमाडौं, ६ मंसिर । नेपालका सयमध्ये ९५ घरधुरीले विद्युत्मा पहुँच पु¥याएका छन् । विश्व बैंकको सर्वेक्षणअनुसार नेपालमा विद्युत् पहुँचको गुुणस्तरमा उल्लेखनीय प्रगति हुँदै आएको छ । सन् २०१७ मा ७२ प्रतिशतले भरपर्दो, किफायती र निर्बाध विद्युत् उपयोग गरिरहेकामा अहिले आएर ९५ प्रतिशत पुगेको हो । सर्वेक्षणअनुसार विद्युत् पहुँचको गुणस्तरमा प्रगति भए पनि सयमध्ये ७० परिवारले काठमाडौं र अन्य प्रदूषणकारी र हानिकारक इन्धनलाई खाना पकाउनमा प्रयोग गरिरहेछन् । सर्वेक्षणअनुसार करिब ६७ प्रतिशत घरपरिवारले दिनको कम्तीमा आठ घन्टा बिजुलीमा अविरल पहुँच पाएका छन् । यसले गर्दा घरेलु उपकरणहरू प्रयोग गर्न सस्तो र भरपर्दो भएको छ । समग्रमा ७१ दशमलव ७ प्रतिशत घरपरिवारले राष्ट्रिय ग्रिडबाट बिजुली पाइरहेको र २३ प्रतिशतले माइक्रो वा मिनी हाइड्रो तथा सौर्य ऊर्जा जडान गरेका छन् ।

‘नेपालका प्रत्येक व्यक्तिलाई उच्चस्तरीय ऊर्जा सेवाहरूको पहुँच प्रदान गर्नु सरकारको उच्च प्राथमिकतामध्ये एक हो । सन् २०२३ सम्ममा १०० प्रतिशत ऊर्जा पहुँच पु¥याउन काम गरिरहेका छौं,’ ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले भने ।

नेपालका लागि विश्व बैंक कन्ट्री म्यानेजर फरिस एच। हदाद जर्भोसका अनुसार २०१७ को सर्वेक्षण पछि नेपालले ग्रिड विद्युतीकरण जनसंख्या ७२ देखि ७८ सम्म बढाउँदै थप प्रगति गरेको छ । सन् २०१८ देखि मुलुक लोडसेडिङमुक्त भएको छ । ‘हामी नेपालले गरेका यी उपलब्धिमा गौरवान्वित छौं । प्रकाश र सफा कुकिङका लागि ऊर्जा सेवाको गुणस्तर सुधार गर्न र नेपालीको जीवनलाई अझ राम्रो बनाउन सरकारसँग साझेदार भएकोमा हामी गर्व गर्दछौं,’ उनले भने ।

नेपाल राष्ट्रिय घरेलु स्तरको सर्वेक्षण ऊर्जा पहुँचसम्बन्धी विश्व सर्वेक्षणको हिस्सा हो, जुन विश्व बैंकले ऊर्जा क्षेत्र प्रवद्र्धन सहयोग कार्यक्रम ९ईएसएमएपी०को सहयोगमा चलाइएको बहुस्तरीय फ्रेमवर्क ९एमटीएफ० दृष्टिकोणमा निर्भर गर्दछ । बिजुली पहुँचको गुणस्तरमा प्रगति भए पनि स्वच्छ कुकिङ नेपालका लागि चुनौती नै छ ।

‘आगामी दिनमा पर्याप्त बिजुली आपूर्ति भएपछि खाना पकाउन आयात गरिएको एलपीजीमा ठूलो निर्भरता हटाउनुपर्नेछ, सरकारले सफा कुकिङ समाधानमा बढी जोड दिनेछ र हरेक घरमा एउटा बिजुली चुल्हो प्राप्त गर्ने लक्ष्य राख्नेछ,’ वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार