भिडियो -भोजपुरमा करिब ५० करोड लागतमा खानेपानी आयोजनाको काम शुरु


भोजपुर,२४ कात्तिक ।
भोजपुर जिल्लामा विगत लामो समय देखि हुँदै आएको खानेपानीको समस्या समाधान हुने भएको छ । साना शहरी खानेपानी तथा सरसफाई आयोजनाको आइतबार शिलान्यास भएसंगै स्थानीयमा पानीको समस्या हट्ने आशा बढेको हो ।

नेपाल सरकारको ७० प्रतिशत, नगरविकास कोषको ऋण २५ प्रतिशत र स्थानीय उपभोक्तको ५ प्रतिशत गरि कुल रु. ४९ करोड, ७९ लाख ९८ हजारमा आयोजनाको निर्माण कार्य शुरु भएको हो । आयोजनाले भोजपुर नगरपालिका क्षेत्रका वडा नं ५, ६,७, ८, ९ र १२ वडाका दुई हजार २८० घर लाभान्वित हुने सिलिचुङ खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिका अध्यक्ष प्रविन कुमार सुवालले जानकारी दिए । अध्यक्ष सुवालका अनुसार आयोजनाको प्रशारण लाइन ३६ किलोमिटर, वितरण लाईन ७६ किलोमिटर गरि जम्मा लाइन ११३ किलोमिटर हुनेछ ।अध्यक्ष सुवालले भने‘ आजबाट आयोजनाको कामको शिलान्यास भएकोछ, हामीले करिब एक करोड २२ लाख जति रकम ठेकेदारलाई मोविलाईजेसन खर्च भुक्तानी गरिसकेका छौ ।’ टेम्केमैयुङ गाउँपालिका– १ तिम्माको तीनभंगालेबाट पानी सदरमुकाम ल्याउने जनाइएको छ । आयोजनाको दुई वर्ष भित्र सम्पन्न गर्ने गरि हुवासुई कन्काई जेभीले जिम्मा लिएको छ । कुनै पनि वाधा अवरोध नआएमा समय भित्र नै सम्पन्न गरि सदरमुकाम सम्म पानी ल्याउने ठेकेदार कम्पनीले प्रतिवद्धता जनाएको छ ।

ठेकेदार जनसेवक भण्डारीले भने‘ सम्पूर्ण तयारीका साथ कामको थालनी गरेका छौ आकस्मीक रुपमा कुनै अवरोध आएन भने निर्धारित समयमा सम्पन्न गर्छौ ।’कामलाई,गुणस्तरिय र प्रभावकारी ढंगले समयमा सम्पन्न गर्नु पर्ने स्थानीयको भनाई छ ।स्थानीय सम्मर बहादुर मोक्तानले भने‘ विगतमा अन्योल थियो, कामको शिलन्यास भएपछि पानी आउनेमा हामी ढुक्क छौ, यसले पानीको समस्या समाधान हुने आशा गरेका छौ । ’उपभोक्तालाई पानी तिवरण गर्नको लागि दुई ओटा प्रशोधन ट्याङ्की, ६ ओटा इन्टेक र १० ओटा पानी पोखरी निर्माण गरिने जानकारी दिईएको छ । आयोजनाको निर्माण सम्झौता २०७५ चैत्र १७ गते काठमाण्डौमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार