धरानको वीपी प्रतिष्ठानमा औषधी बिचौलियाको बिगविगी, यस्तो छ अस्पताल प्रसासनको प्रक्रिया!


 धरान, ७ माघ । चारपाने झापाकी २६ वर्षीय करुणा वाग्ले (नाम परिवर्तन) लाई गत साता सुत्केरी व्यथाले च्यापेपछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइयो ।

साँझ ७ बजेतिर ल्याइएकी अनितालाई व्यथाले च्यापेपनि नर्मल डेलीभरी हुन सकिरहेको थिएन । प्रतिष्ठानको गाईनो वार्डका चिकित्सकले करुणाका श्रीमानलाई अप्रेसन गर्न सुझाए । करुणा पहिलो पटक गर्भवती भएकाले श्रीमानले रिक्स लिन चाहेनन् । चिकित्सककै अनुरोधमा राती १० बजे उनलाई लेबर (प्रसूति कक्ष) मा लगियो । त्यसपछि चिकित्सकले औषधी लगायत अप्रेसनका साधन ल्याउन श्रीमानलाई भने । श्रीमान् तत्कालै प्रतिष्ठान हाता भित्र फार्मेसी छ की छैन भनेर खोज्न थाले । तर, कहीँ भेटाउन सकेनन् । गाईनोवार्डको सुरक्षा गार्डसँग मेडिकल पसलका विषयमा सोधपुछ गर्दै गर्दा एउटा युवक उनका अगाडी आउँदै कस्तो औषधि चाहिने हो रु भन्दै सोधखोज गरे । नारायणले आफ्ना कुरा राख्न नपाउँदै ती युवकले आफू सबै ‘औषधी म्यानेज गर्न सक्ने’ र ‘सहयोगपनि गर्ने’ भन्दै उनकै मोटरसाइकलमा प्रतिष्ठान हाता बाहिरको एउटा मेडिकल हलमा लिएर गए । नारायणले चिकित्सकले दिएको पुर्जी अनुसार औषधी लिएर पैसा पनि तिरे । ती युवकले नारायणलाई पुनः मोटरसाइकलमा राखेर गाईनोवार्डमै ल्याइदिए । यसरी नचिनेको मान्छेले रातविरात सहयोग गरेपछि नारायणले तीनलाई दुई सय रुपैंया हातमा राखिदिए । ‘पर्दैन दाइ म तपाईहरु जस्ताकै सहयोगको लागि आएको हुँ, अरुबेला पनि चाहिए फोन गर्नु म आउँला’ भन्दै ती युवकले मोबाइल नं पनि दिएर गए’ भोलि पल्ट पनि त्यही युवकलाई साथ लिएर नारायणले पुनः त्यही मेडिकल हल मै गएर औषधी लिए । उनीसँग पैसा नहुँदा मेडिकलले पनि बाँकी दियो । अन्तमा प्रतिष्ठानले डेलीभरी सकाएर डिस्चार्ज गरेपछि मेडिकलमा बाँकी रकम तिर्ने बेलामा भने उनी छाँगाबाट खसेजस्तो भए । उनले लगेको औषधीको बाँकी रकम मात्रै ७ हजार बढी भएछ । ‘२ पटक मात्र सामान्य प्याड, स्लाईन पानी र दुखार्ई कम गर्ने औषधी लिएको थिए । अहिले खाता देखाउँदै ७ हजार ४ सय भयो भने ।’ उनले भने । नारायणले ‘कसरी यत्रो बाँकी भयो थाहै छैन’ भन्दा चार पाँच ओटा विल देखाउँदै ‘तपाइकै नाममा काटिएको’ भन्दै ती पसले उनीसँग बाझ्न आए ।

उनले आफूसँग त्यत्रो पैसा नभएको भन्दै प्रतिवाद गर्दै गर्दा एकै क्षणमा त्यही राती सहयोग गर्ने युवक आईपुगे । नारायणले ती युवकलाई ‘त्यत्रो औषधी नलगेको’ भन्दा उल्टै ती युवकले ‘औषधी लाने बेलामा लग्ने अहिले पैसा छैन भनेर हुन्छ रु’ भन्दै हात नै हाल्न खोजे । उनी आफूसँग भएको साँढे ६ हजार तिरेर फर्किए । ‘कस्तो अचम्म १ सहयोग गर्छु भन्दै आउने अनि उल्टै नभएको औषधी किनेको भन्दै मनपरी पैसा असुल्ने १’ उनीसँग औषधी खरिद गरेको विलसमेत छैन । ‘डाक्टरले देको पुर्जी अनुसार नै किनेको हुँ ।’

पूर्वकै गहनाका रूपमा चिनिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घटेको यो घटना नौलो हैन । यहाँ यस्तै तरिकाबाट दैनिक सयौँ बिरामी ठगिईरहेको गुनासो छ । प्रतिष्ठान बाहिर सञ्चालित फार्मेसीहरुले ‘दलाल’ मार्फत औषधी बिक्री वितरण गर्न थालेपछि प्रतिष्ठान परिसरबाटै दिन दहाडै ठगिनु परेको बिरामीका आफन्त बताउँछन् । प्रतिष्ठान हाता भित्र फार्मेसी छैन । र, प्रतिष्ठान बाहिर रहेका फार्मेसी सम्मको दुरी पनि टाढा छ । ‘साधन भएकालाई ठिकै हो, नभएकालाई इमरजेन्सी पर्दा समस्या हुन्छ । पहिले अस्पताल भित्रै फार्मेसी थियो । अहिले रहेनछ ।’ श्रीमती सुत्केरी गराउन आएका इटहरी–४ का रविन्द्र प्याकूरेलले भने । उनलाई पनि एक युवकले औषधी ल्याउन परे सम्पर्क गर्न भन्दै नम्बर दिएका रहेछन् । ‘पहिला यहीँ भित्र औषधी पसल थियो, रातबिरात दौडिनु पर्दैनथ्यो, अहिले २० मिनेट बढी हिँड्नुपर्छ ।’ उनले भने ।–‘केटाहरू आएरै औषधी ल्याईदिने भन्दै वार्गे्निङ पनि गर्छन ।’ प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीहरूलाई प्रतिष्ठान बाहिर रहेका अधिकांश मेडिकल सञ्चालकले सहयोगको नाममा औषधि भिडाउने र पछि रकम असुल्ने गरेको बिरामीका आफन्तको गुनासो छ । केही समय अघि औषधी पसल सञ्चालकको कर्तुत सार्वजनिक भएको थियो । त्यसबखत प्रहरीले केही मेडिकल सञ्चालकलाई नियन्त्रणमा लिएरै सार्वजनिक अपराध अन्तर्गत कारबाही अघि बढाएको थियो । तर, अहिले प्रतिष्ठान हाताभित्र रहेको एक मात्र लाईफ केयर मेडिकल पनि बन्द भएपछि बाहिरका विचौलियाले बिरामी ठग्ने राम्रो मौका पाएका छन् । प्रतिष्ठानको सर्जरी, प्रसूति, बालरोग र मेडिसिन वार्डमा बिचौलियाहरु घुम्ने गर्छन् । उनीहरूले बिरामीका आफन्तलाई सहयोग गर्ने बहानामा महँगो रेटमा औषधी भिडाउने गरेका छन् । अस्पताल परिसरमै फार्मेसी नहुँदाको फाइदा उठाउँदै उनीहरूले बिरामीका आफन्तलाई दिन दहाडै लुटेपनि वीपी प्रतिष्ठान प्रशासन भने मौन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार