काठमाडौं २२ कात्तिक।
भोजपुर(ख) का उमेद्धवार शेरधन राईलाई लक्षित गर्दै आज विहान भएको वम प्रहार प्रति नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले अध्यक्ष केपी ओलीले विज्ञप्ति प्रकाशित गरेर आक्रमणको घटनालाई पार्टीले गम्भिरतापूर्वक लिएको बताएका हुन् । निर्वाचन प्रचारको क्रममा रहेका उम्मेदवारमाथिको आक्रमण सिंगो एमालेमाथिको आक्रमण भएको ओलीको आरोप छ ।
घटनामा संलग्न जोसुकै भए पनि उनीहरूको उद्देश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने निर्वाचन भाँड्ने र मुलुकमा भाँडभैलो मच्चाइरहने किसिमको भएको एमालेको निस्कर्ष छ । एमालेले सरकारलाई निर्वाचनका उम्मेदवारहरूलाई यथेष्ट सुरक्षा प्रदान गर्न र यस्ता सांघातिक आक्रमणहरू नियन्त्रण गर्न सचेत समेत गराएको छ ।
एमालेको माग अनुसार संवेदनशील निर्वाचन क्षेत्रका उम्मेदवारलाई आवश्यक सुरक्षा उपलब्ध नगराएको आरोप पनि ओलीले लगाएका छन् । सरकारको उदासिनताले गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को आक्रमणको घटना भएको भन्दै एमालेले सरकारलाई गम्भिरता देखाउन आग्रह गरेको छ ।
आक्रमणका घटना रोक्न र शान्तिपूर्ण तथा स्वच्छ निर्वाचनको ग्यारेन्टी गर्न एमालेले सरकारसँग माग पनि गरेको छ । उसले घटनामा संलग्न दोषीमाथि कडा कारवाही गर्न माग समेत गरेको छ ।।