भोजपुर २८, कात्र्तिक ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फारम भर्ने समय थप गरेको छ । बोर्डले सोमबार एउटा सूचना जारी गर्दै रजिष्ट्रेशन आवेदन फारम भर्ने म्याद थप गरेको हो ।
शैक्षिक सत्र २०७४/७५ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका लागि बोर्डले असोज मसान्त सम्म र दोब्बर शुल्क तिरेर कार्तिक १५ गतेसम्म रजिष्ट्रेशन आवेदन फारम भर्न समय तोकेको थियो । तर, निर्धा्रित समयमा धेरै विद्यार्थीहरुको फारम भर्न छुटेको भन्ने गुनासो आएपछि म्याद सकिएको तीनहप्तापछि बोर्डले फारम भर्ने म्याद थपेको हो ।
अब २०७४ कार्तिक ७ गतेभित्र रजिष्ट्रेशन शुल्क बापतको रकम बैंकमा बुझाएका तर तोकिएको म्याद (कार्तिक १५ गते) भित्र सम्बन्धित शाखा कार्यालयहरुमा रजिष्ट्रेशन आवेदन फारम नबुझाएका विद्यालयहरुले एक हजार जरिवाना बोर्डको बैंक खातामा दाखिला गरेको भौचर सहित मंसिर ४ गतेभित्र बोर्डका सम्बन्धित शाखा कार्यालयहरुमा रजिष्ट्रेशन आवेदन फारम बुझाउन सक्ने बोर्डले जनाएको छ ।
त्यस्तै, कार्तिक ७ गतेभित्र रजिष्ट्रेशन शुल्क नबुझाएका विद्यालयका हकमा प्रति विद्यालय एक हजार जरिवाना र प्रति विद्यार्थी दोब्बर दस्तुर बापत आठ सयका दरले हुने रकम बोर्डको बैंक खातामा दाखिला गरेको भौचर सहित मंसिर ४ गतेभित्र बोर्डका सम्बन्धित शाखा कार्यालयहरुमा रजिष्ट्रेशन आवेदन फारम बुझाउन सक्ने बोर्डद्वारा जारी सूचनामा जनाइएको छ ।