भोजपुरका ४८ विपन्न विद्यार्थीलाई पढाईमा आर्थिक समस्या


नोदनाथ त्रिताल, भोजपुर । भोजपुर नगरपालिकाभित्र दुई दर्जन विद्यालयमा अध्ययनरत चार दर्जन विद्यार्थीहरु विपन्न परिवारका सदस्यहरु भएको र उनीहरुको पारिवारिक आर्थिक अवस्थाका कारण नियमित रुपमा विद्यालय पठाउन अभिभावकहरुलाई समस्या भइरहेको विद्यालयहरुले जनाएका छन् । एक जना १२ वर्षे दलित समुदायको बालक घरको आर्थिक अभावका कारण विद्यालयमा भर्ना हुन नसकेको पनि जनाइएको छ ।

भोजपुर नगरपालिकाभित्र रहेका ४३ वटा सरकारी विद्यालयहरुलाई न्यायशील असल शासन क्लबले अति विपन्न परिवारका विद्यार्थीहरुमध्येबाट छात्रवृत्तिको लागि नाम सिफारिस गर्न पत्राचार गरेकोमा २६ वटा विद्यालयहरुबाट दुई दुई जनाका दरले विद्यार्थीहरुको नामसहित यस्तो सिफारिस प्राप्त भएको हो । क्लबले सरकारी विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न तथा पठनपाठनप्रति विद्यार्थीहरुको रुची बढाई विपन्न परिवारका छात्रछात्राहरुलाई विद्यालय नियमित आउने र लगनशीलताका साथ पढ्ने वातावरण बनोस् भन्ने उद्देश्यले यो छात्रवृत्ति कार्यक्रम शुरुवात गर्न लागेको हो । भ्रष्टाचारविरुद्ध जनचेतनामुलक अभियान सञ्चालन गर्दै आएको न्यायशील असल शासन क्लबको १६ औं वार्षिकोत्सवको अवसरमा क्लबद्धारा सामुहिक सहभागितमा गत वर्ष एक लाख राशीको न्यायशील अक्षय कोष स्थापना गरिएको थियो ।सोहि कोषको ब्याजमार्फत यहि माघ २८ गते छात्रवृत्ति प्रदान गर्न क्लबले गत माघ ४ गते ती विद्यालयहरुलाई विद्यार्थी सिफारिसको लागि लिखित पत्राचार गरी आग्रह गरेको थियो ।

क्लबले ४३ वटै विद्यालयहरुलाई विद्यार्थी सिफारिस गर्दा निजहरुको पारिवारिक आर्थिक अवस्था न्यून आय भएको विपन्न परिवारको सदस्य, अनाथ बालबालिका र सरकारी तवरबाट प्रदान गरिने छात्रवृत्ति प्राप्त गर्न नसकेकोलाई छनौटको आधार बनाई कारणसहित सिफारिस गर्न आग्रह गरेको थियो । हालसम्म क्लबमा २६ वटा विद्यालयहरुबाट चार दर्जनबढि विद्यार्थीहरुको नाम सिफारिस भई आएको बताइएको छ । ती मध्ये क्लबको अक्षय कोषबाट चार जना विद्यार्थीहरुलाई मात्र छात्रवृत्ति प्रदान गर्न सकिने क्लबले जनाएको छ । बाँकी सिफारिसमा परेका विद्यार्थीहरुको अवस्था हेरी इच्छुक सहयोगदाताहरुबाट सहयोग संकलन गर्ने र उपलब्ध गराउन क्लबले पहल गर्ने समेत क्लबका अध्यक्ष फविन्द्र प्रधानले बताए ।

कुन विद्यालयबाट कस्ता विद्यार्थी सिफारिसमा परे?
श्री कालिका माध्यमिक विद्यालय, हेलौंछाले आफ्नो कार्यक्षेत्रभित्र गरिबी र विपन्नताका कारण दलित समुदायका तसबहादुर दर्जीको छोरा १२ वर्षिय बिक्रम दर्जी विद्यालय भर्ना हुन नसकेकोले सहयोग गरिदिन सिफारिस गरेको प्रअ भिमबहादुर बोगटीले बताए । कक्षा २ मा पढेर विद्यालय छाडेको बिक्रमको बुबा अत्याधिक मादक पदार्थ सेवन गरी बस्ने भएकोले विद्यालय आउने वातावरण बन्न नसकेको पनि उहाँले जानकारी दिनुभयो । साथै सोहि विद्यालयमा कक्षा ५ मा अध्ययनरत सुमन तामाङ्ग र कक्षा ४ मा अध्ययनरत सर्मिला तामाङ्गको नाम पनि गरिब तथा जेहन्दार विद्यार्थीको रुपमा छात्रवृत्तिको लागि सिफारिस गरिएको छ । कक्षा ४ की सर्मिलाको पारिवारिक अवस्था पनि दयनीय रहेको प्रअ बोगटीले बताए ।

आदर्श शिशु प्रावि, टक्सारले बाबु मरेको, आमा बेपत्ता भएको र कृष्णकुमारी कार्कीले पालनपोषण गर्दै गरेकी कक्षा ५ की छात्रा चाँदनी ढकाल र न्यून आय भएका कक्षा ४ का जेनिस श्रेष्ठको नाम छात्रवृत्तिको लागि सिफारिस गरेको छ । यस्तै श्री सिँह प्राथमिक विद्यालय, बोखिमले आफ्नो जग्गा जमिन नभएको, अर्काको जग्गा कमाई बसेको परिवार संख्या पनि १० जना भएको विपन्न दुर्गाबहादुर तामाङको छोरी कक्षा १ मा अध्ययनरत सिर्जना तामाङ र बाबुले कान्छि श्रीमति विवाह गरेको, आमा अर्कैसंग विवाह गरी गएको र बुढा बाजे मनोजकुमार श्रेष्ठसंग बस्दै आएको कक्षा १ मा पढ्ने छात्र समिर श्रेष्ठको नाम सिफारिस गरेको छ ।

यसैगरी श्री जनसेवा आधारभुत विद्यालय, भोजपुरले सूर्य गोलेको संरक्षकत्वमा रहेको, अनाथ तथा जेहन्दार मेहेनती कक्षा २ मा पढ्ने राजबहादुर तामाङ्ग र मावलीको हजुरबुबा गोपाल श्रेष्ठसंग बस्दै आएकी, आमाको मृत्यु भएको, बाबु अर्को आमा ल्याई अन्यत्र गएको र विद्यालयमा अनुशासित तथा पढाई प्रति लगनशील छात्रा कक्षा ६ की प्रमिला श्रेष्ठलाई छात्रवृत्तिको लागि सिफारिस गरेको छ ।
यसैगरी श्री सिँहजलेश्वरी प्रावि हेलौंछाले विपन्न पिछडिएको समुदायबाट कक्षा ३ मा अध्ययनरत सरिता तामाङ्ग र आफ्नो नीजि घरजग्गा नभएको, अर्काको घरबारीमा बसोबास भएको, बाबुको अकालमा मृत्यु भएको, एकल महिला भएर विपन्न पिडित रहेकी आमा पञ्चमाया तामाङलाई एक छोरा र एक छोरी पढाउन समस्या भएको अवस्थाका कारण कक्षा १ मा अध्ययनरत निशान तामाङलाई छात्रवृत्तिको लागि सिफारिस गरेको छ ।

श्री यशोधरा मावि, टक्सारले बाबुआमा दुवै अपाङ्ग भएको कक्षा ७ मा अध्ययनरत वीरबहादुर श्रेष्ठ र आमाको मृत्यु भएको, आर्थिक अवस्था कमजोर भएको कक्षा ६ की निमा तामाङलाई छात्रवृत्तिको लागि सिफारिस गरेको छ ।
यसैगरी धापखर्क प्राविले अनाथ बालकबालिकाहरु कक्षा २ का सुरज तामाङ्ग र कक्षा ५ की सबिता भुजेलको नाम सिफारिस गरेको छ भने श्री जनकल्याण आधारभुत विद्यालय, काफ्लेले बाबु बेपत्ता भई आर्थिक अवस्था कमजोर भएको कारण छिमेकीको आश्रयमा बसेकी कक्षा ७ की मनिषा राई र सिन्धुपाल्चोक जिल्लाबाट विस्थापित भई आफन्तको घरमा आश्रित भई रहेको, बाबुको मृत्यु भएको परिवारकी सदस्य कक्षा २ की आइसिं तामाङ्गको नाम सिफारिस गरी पठाएको छ ।

यस्तै श्री सिद्देश्वर मावि, दावाँले विपन्न तथा जेहन्दार कक्षा ९ का छात्र मनोज खत्री र सोहि अवस्थाका मावली हजुरामा कृष्णमाया मिजारको संरक्षकत्वमा रहेकी कक्षा ९ कै छात्रा सिर्जना मचकोटीको नाम छात्रवृत्तिको लागि सिफारिस गरेको छ ।
यता श्री दुर्गेश्वरी प्रावि, दावाँ, मोहोरियाले जग्गा जमिन ज्यादै कम भएको, बुबा पक्षघात भई लडिरहेको अवस्था, आमा अर्को विवाह गरी हिडेको अवस्थाका कक्षा ३ मा अध्ययनरत छात्रा युबिसा जोगी र आमा बाबुको सम्बन्ध विछोड भई माइतमा नै बसी बनिबुतो गरी जिविको चलाएकी मुना प्रधानका छोरा कक्षा ५ मा अध्ययनरत सन्जिप प्रधानको नाम सिफारिस गरी पठाएको छ । उनीहरुलाई घरको आर्थिक अवस्थाका कारण विद्यालयमा नियमित आउन गाह्रो भईरहेको पनि पत्रमा उल्लेख छ ।

यस्तै श्री जगदिश्वरी प्रावि, तल्लो बोखिमले अनाथ भएको कारण केन्द्र श्रेष्ठको संरक्षकत्वमा रहेकी कक्षा २ की छात्रा शसीकला राई र अति गरीब पारिवारिक अवस्था रहेका कक्षा ३ का छात्र विनोद श्रेष्ठलाई छात्रवृत्तिको लागि सिफारिस गरेको छ ।
यसैगरी श्री जनता प्रावि, बोखिमले बाबु आमा नभएको अनाथ कक्षा ३ का छात्रा संजिता भुजेल र अर्काको घरमा बसेको न्यून आय भएको कक्षा ४ का छात्र खगिन चौहानको नाम सिफारिस गरेको छ ।

यस्तै श्री सरस्वती आधारभुत विद्यालय, पोखरेले टुहुरा, निम्न आर्थिक अवस्था भएका कक्षा २ का छात्र दुर्गाबहादुर बस्नेत र विपन्न परिवारकी कक्षा ३ कि छात्रा पवित्रा पाण्डेको नाम छात्रवृत्तिको लागि सिफारिस गरेको छ । यसैगरी श्री जनकल्याण आधारभुत विद्यालय, आम्तेकले पारिवारिक आर्थिक अवस्था ज्यादै न्यून रहेका कक्षा ५ मा अध्ययनरत कुमार खड्का र विपन्न परिवारकै कक्षा ४ मा अध्ययनरत रोजिना खड्कालाई छात्रवृत्तिको लागि सिफारिस गरेको छ । यस्तै श्री विद्योदय माविले विपन्न एवं जेहन्दार भनी कक्षा ८ का देवेन्द्र खत्री र कक्षा ७ की अम्बिका राईलाई छात्रवृत्तिको लागि सिफारिस गरेको छ ।

यसैगरी श्री युवा वर्ष (मालिका देवी) प्रावि, बोखिमले आर्थिक विपन्न कक्षा ३ का तारा खड्का र सुविन प्रधानलाई छात्रवृत्तिको लागि सिफारिस गरेको छ । त्यस्तै श्री सार्बजनिक आधारभुत विद्यालय टक्सार, पैयापानीले विपन्न परिवारको भनी कक्षा ७ कि निखिला बानिया र कक्षा ३ का रोहित तामाङको नाम छात्रवृत्तिको लागि सिफारिस गरेको छ ।
यसैगरी श्री गुप्तेश्वर प्रावि, दावाँले जेहन्दार कक्षा ३ को हरिप्रसाद श्रेष्ठ र विपन्न वर्गका कक्षा १ की जेनिशा राईको नाम सिफारिस गरी पठाएको छ भने श्री पिखुवा प्रावि, टक्सारले निम्न आयस्रोत रहेको परिवारका सदस्य भनी कक्षा ३ का दिपेन तामाङ्ग र दिव्य बयलकोटीको नाम सिफारिस गरेको छ ।

यसैगरी श्री सिँहदेवी प्रावि, आम्तेकले विद्यालय व्यवस्थापन समितिको बैठकबाट निर्णय गराई आर्थिक विपन्न कक्षा १ का दिपकला राई र कक्षा २ का प्रविन दर्जीको नाम छात्रवृत्तिको लागि सिफारिस गरी पठाएको छ ।
यस्तै श्री सिँहदेवी मावि, भामराङ्गले जेहन्दार तथा विपन्न परिवारका छात्रछात्राहरु कक्षा ८ का ललितकुमार तामाङ्ग र सुशीला तामाङ्गलाई छात्रवृत्तिको लागि सिफारिस गरी पठाएको छ भने श्री गणेश प्रावि, आम्तेक, मुलाबारीले अति नै गरीब परिवारबाट कक्षा २ का प्रविन राई र कक्षा ३ का संगीता राउतलाई सिफारिस गरेको छ । यस्तै श्री जाल्पादेवी प्रावि, सिद्धेश्वर ८, दावाँले विपन्न परिवारका कक्षा १ मा पढ्ने अधिराज खड्का र कक्षा ५ मा पढ्ने ग्रिष्मा खत्रीको नाम सिफारिस गरी पठाएको छ ।

यस्तै श्री पञ्चकन्या आधारभुत विद्यालय, मान्द्रे, सिद्धेश्वरले पारिवारिक अवस्था नाजुक रहेको कक्षा ७ का छात्र दिनेश राउत र आमा मरेको, बाबुको आर्थिक अवस्था नाजुक रहेको कक्षा २ की छात्रा प्रेमकुमारी राउतको नाम छात्रवृत्तिको लागि सिफारिस गरेको छ ।

यसरी प्राप्त सिफारिस पत्रहरुलाई अध्ययन विश्लेषण गरी विद्यार्थी छनौट गरेर क्लबले यहि माघ २८ गते १७ औं वार्षिकोत्सवको अवसरमा भोजपुर नगरपालिकाको सभाहलमा आयोजित विशेष अन्तरक्रिया कार्यक्रममार्फत छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुको नाम र विद्यालय घोषणा गर्ने कार्यक्रम तय भएको क्लबले जनाएको छ । गत वर्ष स्थापित न्यायशील अक्षय कोषबाट छनौटमा परेका ४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने समेत क्लबले जनाएको छ । विद्यालयहरुबाट सिफारिस भई आएका बाँकी विपन्न विद्यार्थीहरुलाई व्यक्तिगत रुपमा स्वेच्छिक सहयोग गर्न इच्छुक सहयोगदाता महानुभावहरुलाई समेत क्लबले कार्यक्रममार्फत विद्यालयले विपन्न भनी सिफारिस गरेका विद्यार्थीहरुलाई आवश्यक सहयोग गर्न सक्ने भनी सहयोगको लागि अपिल समेत गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार