लकडाउनले धरासायी बन्दै भोजपुरमा सञ्चालित पोल्ट्री फर्म, दाना अभावले मर्न थाले कुखुरा


भोजपुर, २२ वैशाख ।
विदेश जाने मोह त्यागेर आफ्नै ठाउँमा व्यवसायिक रुपमा कृषि पेशामा लागेका भोजपुरका युवाहरु निरास बन्न थालेका छन् । लकडाउनका कारण व्यवसाय धरसायी बन्न थालेपछि उनीहरुमा निरासा थपिएको हो ।
जिल्लामा ब्यवसायिक कुखुरापालन, पशुपालन, व्यावसायिक तरकारी खेति लगाएत विभिन्न उद्यमशिल काममा युवाहरु लागेका छन् । उनीहरुले ती व्यवसायबाट मनगै आम्दानी पनि गर्दै आएका थिए । तर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ ले उत्पन्न समस्याका कारण उनीहरु अहिले व्यवसायबाट पलाएन हुने खतरा बढ्दै गएको छ । लकडाउनले सम्पूर्ण क्षेत्र बन्द हुँदा उनीहरुलाई समस्या थपिएको हो । बैंकबाट ऋण लिएर ठुलो लगानी गरेका उनीहरु अहिले सरकारसंग साहरा खोजी रहेका छन् ।
भोजपुर नगरपालिका–१२ टक्सारमा अजिमा पोल्ट्री फर्म दर्ता गरेर व्यवसाय गरिरहेका स्थानीय युवा व्यवसायी दिपक श्रेष्ठले भने ,‘ देशका हामी जस्ता धेरै युवाहरु विदेश गईरहेको अवस्था छ, म भने ६ वर्षबाट व्यवसाय गरिरहेका छु, तर लकडाउनले हामी जस्ता युवा मारमा परेका छौ, यो विषम परिस्थितिमा सरकारले हामी जस्ता व्यवसायीलाई लक्षित गरेर आवश्यक सहयोग गर्न आवश्यक छ, त्यो भएन भने म जस्ता धेरै युवाहरु व्यवसायबाट पलाएन हुने अवस्था छ ।’
श्रेष्ठले विगतका दिनमा भोजपुर सदरमुकाम देखि लिएर रामप्रसाद राई गाउँपालिकाको मानेभञ्याङ, ओख्रे, टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्ण लगाएत ठाउँमा कुखुरा सप्लाई गर्दै आएका थिए । तर अहिले फर्ममा विक्रीका लागि तयार भएका कुखुरा दाना अभावमा बचाउन नसक्ने अवस्थामा पुगेका छन् । श्रेष्ठले गाउँ -गाउँबाट मकै संकलन गरेर अहिले कुखुरालाई बचाइ रहेको बताए । सवै कुखुरा मरेमा रु. १३ देखि १५ लाख घाटामा जाने श्रेष्ठको भनाई छ । अहिले फर्ममा ३ हजार कुखुरा रहेका छन्, भने फर्मबाट ४ जनाले रोजगारी समेत पाएका छन् ।
‘ठुलो लगानी गरेर व्यवसायमा लगानी गरियो, कृषि व्यवसायमा रु.३० लाख बढी लगानी छ, दैनिक रुपमा कुखुरालाई रु. २२ हजार बढीको दानामा खर्च हुन्छ, दाना खरिद गर्न नसक्दा कुखुरा मरिरहेका छन्, गाउँगाउँबाट मकै खरिद गरेर बचाउने कोशिस गरिरहेको छु, यस्तो अवस्था लम्बिदै गएमा ब्यवसाय टाठ पल्टिने अवस्था छ ।’ श्रेष्ठले भने ।

त्यस्तै भोजपुरको पौवादुङमा गाउँपालिकामा लेयर्स जातको कुखुरा पालेर अण्डा उत्पादन गर्दै आएका अर्का युवा दिपक सुवेदीले पनि त्यस्तै समस्या भोग्दै आएको बताए । सुवेदीले भने ‘हामी सवै व्यवसायमा लागेका युवाको समस्या उस्तै छ, यो समयमा कुखुरालाई बचाउन गाह्रो छ, भने उत्पादित अण्डा विक्री नहुँदा फाल्नु पर्ने अवस्था छ ।’
लकडाउनले मुख्य रुपमा पशुपालन तथा कुखुरापालन, तरकारी व्यवसायमा लागेका युवाहरु मारमा छन् । उत्पादित सामग्री गाई बस्तुसंगै सुँगुरलाई खुवाउनु पर्ने आवस्था बनेपछि व्यवसाय संकटमा परेको हो । धेरै ठुलो लगानीमा ब्यवसाय थालेर अन्य व्यक्तीलाई समेत रोजगारी दिँदै आएका उनीहरु अहिले आफै संकटमा परेको बताउन थालेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार