
भोजपुर, १६ पुस । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ घोरालुङमा भतिजाले काकाको हत्या गरेका छन् । घरायसी विवादका क्रममा भतिजा ४६ वर्षीय सोमप्रसाद राईले ६२ वर्षीय काका थामबहादुर राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार भतिजाले मादक पदार्थ सेवन गरेको अवस्थामा काकामाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी महेन्द्र पराजुलीले जानकारी दिनुभयो ।
घटना गएराति भएको भए पनि ढिलो गरी मात्र सूचना प्राप्त भएको वडाध्यक्ष हर्कराज राईले बताउनुभयो ।
खवर पाउनसाथ प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का उठाई थप अनुसन्धान थालेको छ । घटनामा संलग्न अभियुक्तलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
















