संसद पुनःस्थापना बिना देशको संकट हट्दैन : एमाले नेता शेरधन राई


भोजपुर, २८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य, कोशी प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राईले देशमा देखिएको राजनीतिक संकट समाधानका लागि संसद पुनःस्थापना अपरिहार्य रहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा भोजपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राईले जेन–जेड आन्दोलनपछि देखिएका विभिन्न समस्याको समाधान गर्दै संविधानको रक्षाका लागि संसद पुनःस्थापना अपरिहार्य रहेको बताउनुभएको हो ।

जेन–जेड पुस्ताले उठाएको भ्रष्टाचार नियन्त्रणको मुद्दाको पक्षमा एमाले रहेको बताउँदै उहाँले घुसपैठका कारण देशमा विधंश मच्चिएको धाराणा राख्नुभयो ।

राईले एमालेका २०४६ यताका मन्त्री, सांसद र राजनीतिक नियुक्ति पाएका सबैको सम्पत्ति विवरण छानबिन गर्न एमालेले पटक–पटक माग गर्दै आएको छ । “मैले त कोशी प्रदेशमै पत्रकार सम्मेलन गरेर छानबिन मेरोबाटै सुरु गर्न चुनौती दिएको छु,” उहाँले भन्नुभयो, “म पनि सरकारको मन्त्री, मुख्य मन्त्री सांसद भईसकेको छु । गलत काम गरेको प्रमाणित नभई दोष लाउन पाईदैन । भष्ट्रचार गरेको प्रमाणित भए एमाले सवै नेता कारवाही भाेग्न तयार छौँ ।”

उहाँले जेन–जेड पुस्ताले उठाएको भ्रष्टाचारविरुद्धको मुद्दामा एमाले स्पष्ट समर्थनमा रहेको बताउनुभयो। हाल देशमा देखिएका बेथितिको नियन्त्रणका लागि एमालेले देशव्यापी खबरदारी सभा सञ्चालन गरिरहेको जानकारी दिँदै उहाँले भोजपुरमा पनि भोलि (शनिबार) जनप्रदर्शन तथा कार्यकर्ता भेलाको आयोजना गरिएको बताउनुभयो ।

सरकारले फागुन २१ गते तोकेको प्रतिनिधिसभा निर्वाचन वर्तमान अवस्था यथावत रहेमा सम्पन्न हुन नसक्ने राईको भनाइ छ । सरकार निर्वाचन गराउनेतर्फ जिम्मेवारढङ्गले अघि नबढेको आरोप लगाउँदै उहाँले ठूलो दललाई निषेधको दिशामा सरकार लागेको टिप्पणी गर्नुभयो ।

आन्दोलनका क्रममा हजारौँ हतियार र कैदीहरू भागे पनि खोजतलासमा सरकार गम्भीर नभएको उहाँको आरोप छ । जनतालाई शान्ति–सुरक्षाको प्रत्याभूति दिन नसक्नु सरकारको कमजोरी भएको राईले बताउनुभयो ।

राष्ट्र, राष्ट्रियता र देशका उपलब्धीको सुरक्षाका लागि एमाले एक्लै मैदानमा निस्किएको भन्दै उहाँले सबै लोकतान्त्रिक शक्तिलाई साथ दिन आह्वान गर्नुभयो ।

पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य प्रशुराम अधिकारी, जिल्ला कमिटी अध्यक्ष मक्कर खड्का,प्रदेश कमिटी सचिवालय सदस्य देबीराम चाैलागाँई, प्रदेश कमिटी सदस्य खड्ग पौडेल,  उपाध्यक्ष किरण राई, सचिव एक्सान राई, उपसचिव दौलथ कुलुङलगायत एमाले नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

https://www.facebook.com/reel/1385987089780208

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार