सिक्रेटारमा रहेको सगरमाथा माविको सहयोगार्थ ‘बृहत साँस्कृतिक कार्यक्रम’ सम्पन्न


भोजपुर, २३ कात्तिक । भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित सगरमाथा माध्यमिक विद्यालयको सहयोगार्थ आयोजित देउसी–भैलो तथा साँस्कृतिक कार्यक्रमबाट चार लाख रुपैयाँ संकलन गरिएको छ। विद्यालयको आर्थिक सुदृढीकरण र शैक्षिक गुणस्तर सुधारका लागि स्थानीयवासीहरूले आफैं अग्रसर भएर यो उदाहरणीय पहल गरेका हुन्।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा नं.७ का अध्यक्ष कुमार थापाका अनुसार विद्यालय सञ्चालनका लागि स्थायी आम्दानी स्रोत विकास गर्ने उद्देश्यले देउसी–भैलो र साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो।

“विद्यालयको सहयोगार्थ देउसी–भैलोसँगै साँस्कृतिक कार्यक्रम गरेर रकम संकलन गरेका छौँ,” अध्यक्ष थापाले भन्नुभयो, “विद्यालय सञ्चालनका लागि स्थानीयको साथ र कलाकारहरूको निःशुल्क सहयोगले अभियान सफल भएको छ।”

संकलित रकम विद्यालयको शैक्षिक सुधार, आवश्यक पूर्वाधार निर्माण र दीगो आम्दानी स्रोतको रुपमा प्रयोग गरिने अध्यक्ष थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा लोकगायक शुकदेव अधिकारी, स्थानीय कलाकार बीरबहादुर लिम्बु, तेजेन्द्र गन्भर्व, मनीपाल राई र टीका मगरले आकर्षक प्रस्तुति दिएका थिए। मोडल तथा निर्देशक जीवन थापाको उपस्थिति पनि रहेको थियो।

विद्यालयले यसअघि माध्यमिक शिक्षा परीक्षा(एसईई)मा सबै विद्यार्थीलाई उतीर्ण गराएर गाउँपालिकाभित्र उत्कृष्ट नतिजा हासिल गरेको थियो । विद्यालयको यो उपलब्धि र सहयोगार्थ गरिएको अभियानलाई उदाहरणीय भन्दै गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले प्रशंसा गर्नुभयो। उहाँका अनुसार गाउँपालिकाले विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि आवश्यक सहयोग प्रदान गर्ने तयारी गरेको छ ।
विभिन्न क्षेत्रका कलाकारहरुलाई विद्यालयले सम्मान पत्रले सम्मान गरेको छ। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विनिता ढकाल, नेपाली कम्यूनिष्ट पार्टीका कोशी प्रदेश सचिवालय सदस्य बिमल खड्का, नेपाली काङ्ग्रेसका गाउँपार्टी सभापति श्रीकुमार राई, नेकपा एमाले अरुण गाउँपालिका अध्यक्ष बुद्धीबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लक्ष्मी अधिकारीलगायत स्थानीय बुद्धीजिवी, समाजसेवीको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार