
युवराज विष्ट
भोजपुर, २२ कात्तिक ।
भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिक स्थल ‘महादेव थान’ प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । गाउँपालिकाले पछिल्ला वर्षमा संरक्षण र पूर्वाधार विकासको पहल थाले पनि अपेक्षितस्तरको पहिचान नपाएको स्थानीयको गुनासो छ । यो क्षेत्रको संरक्षण थालेको भएपनि प्रचार–प्रसार अभावमा ओझेलमा परेको हो ।
गाउँपालिकाको वि.सं. २०८० बाट सुरू गरिएको पूजापाठ तथा सदबिज छर्ने कार्यक्रमसँगै यहाँको धार्मिक महत्व थप बढेको छ । हतुवागढी र रामप्रसादराई र पौवादुङमा गाउँपालिकाको संगमस्थलमा रहेको यो स्थानमा विगतमा हरेक वर्ष मेला लाग्ने परम्परा रहँदै आएको थियो । माओवादी द्वन्द्वका कारण लामो समयदेखि रोकिएको मेला अहिले स्थानीयको पहलमा पुनः सुचारु गरिएको छ ।
गाउँपालिकाले यो स्थानको संरक्षणसँगै बाटो तथा भक्तजनको आवतजावतको सहजताको लागि फलाम बारासमेत लगाइएको छ । यहाँसम्म पुग्न सडक विस्तार गरिएको छ । महादेव थान संरक्षण समिति गठन गरेर यो स्थानको संरक्षण तथा विकासको काम भइरहेको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो । गाउँपालिकाको एक महत्वपूर्ण धार्मिक स्थल रहेकाले यसको संरक्षणको लागि काम गरिरहेको उहाँको भनाइ छ । ऐतिहासिक, धार्मिक, साँस्कृतिक क्षेत्रको रुपमा विकास गरिरहेको अध्यक्ष राईको भनाइ छ ।
“यो हाम्रो गाउँपालिकाको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो”अध्यक्ष राईले भन्नुभयो,“यो क्षेत्रको विकासको लागि हामीले काम गरिरहेका छौँ । यो प्रसिद्ध स्थल प्रचार अभावमा ओझेलमा परेकोले यसको प्रचार–प्रसारमा जुटेका छौँ ।”
गुफाँसगै यहाँको वनावटले सवै आश्चर्य चकित पार्ने स्थानीयबासी लालबहादुर प्रधानले बताउनुभयो । यहाँ दर्शन गरेर मनोकाङ्क्षा पुरा हुने धार्मिक विस्वासले भक्तजनहरु आउने गरेको उहाँको भनाइ छ । विगतमा ठूलो मेला लाग्ने गरेको भएपनि माओवादी द्धन्दकालबाट यहाँ मेला लाग्न बन्द भएको थियो ।
यहाँ बालाचतुदर्शीमा मेला तथा भजन कृतन हुने गरेको छ । देवस्थलमा गुफासँगै विभिन्न देविदेवताको मूर्ती रहेका छन् । ऐतिहासिक, धार्मिक र प्राकृतिक सौन्दर्य मिसिएको यो स्थल गाउँपालिकाको पहिचान बन्ने सम्भावना बोकेको स्थानीयको भनाइ छ। मङ्सिर १ गते कार्यक्रमको आयोजना गरिएको छ ।
तस्बिर पनि छ ।














