
भोजपुर २१ कार्तिक । भोजपुरमा ‘प्रथम मुन्दुम अल्ट्रा ट्रेल रेस–२०८२’ सञ्चालन हुने भएको छ । हतुवागढीको कोप्चेबाट तावाभञ्याङसम्म ६० किलोमिटर दूरीमा प्रतियोगिता सञ्चालन गर्न लागिएको शुक्रबार पत्रकार सम्मलेलनमार्फत जानकारी दिइएको हो ।
पदमार्गको प्रचार–प्रसार र साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आगमी मङ्सिर २०–२२ गतेसम्म रामप्रसादराई, हतुवागढी र आमचोक गाउँपालिकाले प्रतियोगिता गर्न लागेका हुन् ।
भोजपुरको सवैभन्दा होचो स्थान (१५३ मिटर) माइबेनी कोप्चेबाट तावाभञ्याङसम्म प्रतियोगिता हुने मुन्दुम ट्रेल रेस सञ्चालन समितिका सचिव रविन थापाले जानकारी दिनुभयो । हतुवागढी-९ माईबेनी कोप्चेबाट सुरु हुने रेस आमचोकको बयाङ–थामडाँडा हुँदै रामप्रसादराई गाउँपालिकाको पामखाङ–भञ्याङ–कपासे–सेल्मे–पाँचधारे–तावाभञ्याङसम्म सञ्लालन हुने रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । भ्रमण बर्ष सन २०२५ लाई लक्षित गरेर ट्रेल रेसको आयोजना गरिएको उहाँको भनाइ छ ।
प्रतियोगितालाई प्रभावकारी, सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न तीनै गाउँपालिकाबीच विस्तृत कार्ययोजना तयार गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो। उहाँले सामुदायिक तथा साहसिक पर्यटन विकास गर्ने लक्ष्यसहित यो प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
प्रतियोगिताले यहाँको मौलिक संस्कृति, स्थानीय परिकार र पहिचानलाई देश–विदेशमा चिनाउने अवसर मिल्ने आमचोक गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिनुभयो ।
प्रतियोगिता सञ्चालनका लागि तीनै गाउँपालिकाले पाँच–पाँच लाख रुपैयाँका दरले जम्मा रु. १५ लाख बजेट विनियोजन गरेका छन् ।
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका धावकहरूको सहभागिता रहने जनाइएको छ । प्रतियोगितमा एक सय जना धावक सहभागी गराउने लक्ष्य रहेको रिमाचुङ, एजुकेसन एण्ड स्पोर्ट एकाडेमीका अध्यक्ष पावीहाङ राईले जानकारी दिनुभयो ।














