देउराली पार्क: युवाहरुको प्रयासले बनेको आकर्षक स्थल


युवराज विष्ट
भोजपुर, १६ कात्तिक ।
भोजपुरको देउरालीमा निर्माण गरिएको पार्क अहिले जिल्लामा आउने आगन्तुकका लागि मन रमाउने सुन्दर स्थल बनेको छ। स्थानीय युवाको सक्रियता र सामूहिक प्रयासका कारण यो स्थान अहिले भोजपुरको नयाँ पहिचान बन्दै गएको छ।
यस पार्कको संरक्षण र सरसफाइमा विहानी फुटबल क्लबका युवाहरूको निरन्तर योगदान रहेको सचिव रिपेश भुजेलले जानकारी दिनुभयो । यहाँ क्लवले राष्ट्रिय झण्डा राखेको उहाँको भनाइ छ ।
युवाहरूले राष्ट्रिय झण्डा, फूलका गमला र बस्नका लागि फलैंचा निर्माण गरेर पार्कलाई आकर्षक र व्यवस्थित बनाएका छन्। पार्कको प्रवेश भागमा खुकुरीको प्रतिमा स्थापनाले यहाँ आउने आगन्तुकको ध्यान झन् बढी तान्ने गरेको छ । यहाँ भोजपुर नगरपालिकाले खुकुरीको प्रतिमा निर्माण गरेको हो ।
क्लबका युवाहरूले राखेका राष्ट्रिय झण्डाको नियमित हेरचाह र फेरबदलसमेत गर्दै आएका छन्,जसले पार्कलाई सदैव स्वच्छ र आकर्षक बनाएको छ। युवाको सक्रियताबाट प्रेरित भई यहाँका अन्य समाजसेवीहरूले पनि व्यक्तिगत पहलमा फलैंचा निर्माण र सजावटमा सहयोग गरेका छन्।
युवाहरूको यस निरन्तर प्रयासले देउराली सुन्दरसँगै भोजपुरकै गर्वको स्थल बन्ने दिशामा अघि बढेको शुरुवाती अभियान सञ्चालन गर्नु भएका युवा प्रकाश किरातले बताउनुभयो । युवाहरुले थालेको अभियानलाई विभिन्न संघ, संस्था तथा व्यक्तिहरुको सहयोगले पूर्णता दिएको उहाँको भनाइ छ ।
सुन्दर प्राकृतिक दृश्यले सजिएको देउराली पार्क अहिले फुर्सदको क्षण बिताउने र दृश्यावलोकन गर्ने प्रमुख स्थल बनेको छ। बिहान र साँझको समयमा यहाँ दर्जनौँ आगन्तुकहरू प्रकृतिको आनन्द लिन आउने गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार