
भोजपुर, ३१ साउन ।
धर्म, संस्कृति संरक्षणसँगै धार्मिक पर्यटन प्रवद्र्धनका लागि भोजपुरको टक्सारमा आजबाट दुई दिने श्रीकृष्ण जन्माष्टमीको मेला आयोजना गरिएको छ । मेलामा दुईदेखि तीन हजार मानिसले अवलोकन गर्ने अपेक्षा गरिएको मेला आयोजक समितिका संयोजक रेवत शाक्यले जानकारी दिनुभयो। यहाँ वर्षेनी श्रीकृष्ण जन्माष्टमीको अवसरमा मेला लाग्ने गरेको छ।
मेलामा आज ३१ गते श्रीकृष्ण रथ स्थापना पश्चात रथ यात्रासहित बजार परिक्रमा, विभिन्न समूहको लाखे जात्रा, विभिन्न जातजातिको झाँकी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ। भदौ १ गते पुनः रथ सहित टक्सार बजार परिक्रमा गराई श्रीकृष्ण मन्दिरमा पु¥याएर रथ विसर्जन गर्ने परम्परा रहेको उहाँले जानकारी दिनुभयो।
“आजबाट दुई दिने श्रीकृष्ण जन्माष्टमी मेला शुरु हुदैछ ,” संयोजक शाक्यले भन्नुभयो, “संस्कृति संरक्षण गर्न वर्षेनी टक्सारमा यो अवसरमा मेला लगाउँदै आएका छौँ। यो पटकको मेलामा दुईदेखि तीन हजार मानिस आउने अपेक्षा छ।”
मेलालाई व्यवस्थित बनाउन मेला क्षेत्रको सरसफाइ गरिएको छ । टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूले मेला क्षेत्र सफा गरेका हुन्। मेलालाई भव्य रूपमा सम्पन्न गराउन विद्यालय परिवारले आवश्यक सहयोग गरिरहेको यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रवराज रेग्मीले बताउनुभयो।
भोजपुर नगरपालिका–१२, टक्सारको आर्थिक तथा प्राविधिक सहयोगमा मेलाको आयोजना गरिएको वडाध्यक्ष देवीबहादुर कार्कीले जानकारी दिनुभयो। यस्ता मेलाले धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा विकासमा टेवा पुग्ने उहाँको भनाइ छ।
















