
युवराज विष्ट, भोजपुर, १९ जेठ ।
पक्की सिंचाई कुलो बनेपछि भोजपुर नगरपालिका ६ भंगेरीबासीलाई सहजता भएको छ । वडाको पहलमा श्रमदानसहित रु. ५३ लाख लागतमा पक्की कुलो निर्माण भएपछि वर्षौदेखी पानीको समस्या झेल्दै आएका किसानलाई सहजता भएको हो ।
यहाँ केन्द्र सरकार, प्रदेश सरकार, स्विस सरकार र स्थानीय सरकारको लागत साझेदारीमा ओडारे– भण्डारे सिंचाई कुलो निर्माण गरिएको वडाध्यक्ष शैलेन्द्र कार्कीले जानकारी दिनुभयो । साझेदारीमा प्राप्त बजेटबाट यहाँ नौ सय २३ मिटर सिंचाई कुलो निर्माण सम्पन्न गरिएको उहाँको भनाइ छ ।
“यहाँका किसानलाई सिंचाई कुलो नहुँदा धेरै नै समस्या थियो”वडाध्यक्ष कार्कीले भन्नुभयो,“हामीले यो क्षेत्रलाई लक्षित गरेर धेरै पटक कुलोको माग गरिरहेका थियौँ । धेरै समयको मेहनतपछि कुलो निर्माण गर्न सफल भएका छौँ । यसले यहाँका किसानलाई प्रत्यक्ष लाभ पुगेको अवस्था छ ।”

यो कुलोले हिउँदे र बर्खे गरीे तत्काललाई करिव ५० देखी ६० घरपरिवारको पाँच सय रोपनी क्षेत्रलाई सिंचाई सुविधा पुग्ने वडाध्यक्ष कार्कीले बताउनुभयो । यहाँ धेरै उर्वरभूमी रहेकोले सिंचाई कुलो निर्माणले कृषि उत्पादनमा टेवा पुग्ने उहाँको भनाइ छ ।
सिंचाई कुलो निर्माणले खेतीपातीको लागि सहजता भएको स्थानीयबासी रुद्र बहादुर कोइरालाले बताउनुभयो । ओडारे, भण्डारे कुलो बनेपछि पुस्तौँदेखीको सिंचाइको समस्या अन्त्य भएको उहाँको भनाइ छ । कुलो निर्माण भएपछि ओडारे खोलाबाट पानी ल्याएर सहज रुपमा समयमा खेती गर्ने अवस्था रहेको उहाँको भनाइ छ ।
“सिंचाई कुलो नहुँदाको समस्या भनेर साध्य छैन”उहाँले भन्नुभयो,“खेतीको लागि आकाशे पानीको भर पर्नु पथ्र्यो । खेतको व्याड, विउ राख्न नै समस्या हुन्थ्यो । पानीको कारण दैनिक जसो छिमेकीसँग झगडा हुन्थ्यो । अहिले सिंचाई कुलो बनेपछि हामीलाई सहज भएको छ । समयमा खेती गर्न पाएका छौँ । धेरै लामो समयपछि सिंचाई कुलोको सपना पुरा भएको छ । हामीले एकदम खुसी छौँ ।”

कुलो निर्माणले धानबाली खेतीसँगै हिउँदको समयमा तरकारी तथा नगदेबाली खेतीका लागि सहजता हुने स्थानीय कृषक रिता कोइरालाले बताउनुभयो । कुलो बनेपछि दश मिनेटमा खोलाबाट खेतमा पानी ल्याएर खेती गर्न सक्ने अवस्था निर्माण भएको उहाँको भनाइ छ । वडाको पहलमा भएको कामले किसानको दैनिकीमा सहजता थपिएको उहाँले बताउनुभयो । सिंचाई नहुँदा खेत बाँझिदै गएको अवस्थामा सिंचाई विस्तारले उर्जा थपेको उहाँको भनाइ छ ।
निर्माणको काम सम्पन्न भएर पानी सुचारु गरिएको कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रदिप तामाङले बताउनुभयो । आफ्नो गाउँघरमा सिंचाइको सुविधा विस्तारले उत्साह बढेको उहाँको भनाइ छ । कुलो निर्माणले किसानले खडेरीमा खेतीको लागि आकाश हेरेर बस्नु पर्ने अवस्थाको अन्त्य भएको उहाँले बताउनुभयो ।
“भौगोलिक विकटताका कारण यो कुलो निर्माणमा धेरै समस्या थियो”उहाँले भन्नुभयो,“भिरबाट कुलोलाई विस्तार गर्नु पर्ने भएकाले निकै जोखिम पनि थियो । तर पनि हामी सवै उपभोक्ता मिलेर समयमा नै निर्माण सम्पन्न गरेका छौँ । सिंचाई कुलो निर्माणमा हामीलाई सहजता भएको छ ।”


















