
भोजपुर ६ जेठ । भोजपुरमा पत्रकारिता क्षेत्रको विकास तथा सवलीकरणमा स्थानीय तहले खेल्न सक्ने भूमिकाको विषयमा अन्तरसम्वाद कार्यक्रम गरिएको छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजनामा ‘पत्रकारिता क्षेत्रको सबलीकरणमा स्थानीय तहको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रम गरिएको हो ।
कार्यक्रममार्फत पत्रकारिता क्षेत्रको विकास तथा यसमा आवद्ध क्रियाशिल पत्रकारहरुलाई पेसामा टिकाई राख्नको लागि स्थानीय तह तथा सरोकारवाला पक्षले खेल्न सक्ने भूमिको विषयमा छलफल गरिएको हो । कार्यक्रमका सहभागिहरुले पत्रकारहरुले देशको विभिन्न परिर्वतनमा खेलको भूमिको विषयमा चर्चा गरेका छन् ।
पत्रकारिता क्षेत्रलाई सशक्त बनाउन स्थानीय तहले आफ्नो तहबाट सहयोग गर्ने बताएका छन् । पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले स्थानीय सञ्चार माध्यमलाई टिकाई राख्नको लागि स्थानीय तहहरुले आवश्यक सहयोग गर्नु पर्ने धाराणा राख्नुभयो । पत्रकारहरुलाई पेसाबाट पलाएन हुन नदिन आफ्नो तहबाट सहयोगको भूमिका खेल्नु पर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै भोजपुर नगरपालिकाका प्रमुख कैलाश आलेले पत्रकारिता क्षेत्रको विकासमा आफ्नो तहबाट सहयोगन गर्ने बताउनुभयो । पत्रकारहरु पनि आफ्नो पेसागत सुरक्षाका लागि एकजुट हुन आवश्यक रहेको उहाँको भनाइ छ । नेपाल पत्रकार महासंघ भोजपुर शाखाका अध्यक्ष ध्रुव सुवेदीले भोजपुर तथा कोशी प्रदेशमा रहेका सञ्चार माध्यम पत्रपत्रिका र हालको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत भएको थियो ।