
भोजपुर, २९ चैत । कोशी प्रदेश राज्यमन्त्री सिर्जना राईले सरकारले खेलक्षेत्रको विकासमा जोड दिएको बताउनुभयो । विहिबार भोजपुर रंगशालामा आयोजित पहिलो‘मुख्य मन्त्री कप राष्ट्रिय भलिवल’ प्रतियोगिताको समापन समारोहलाई सम्वोधन गर्दै मन्त्री राईले यस्तो बताउनु भएको हो । मुख्य रुपमा तीन वटा खेल (भलिवल, फुटबल र ब्याटमिन्टन)को विकासको लागि आफुले पहल कदमी गरिरहेको उहाँको भनाइ छ ।
“खेल क्षेत्रको विकासको लागि कोशी प्रदेश सरकारले जोड दिएको छ” राज्यमन्त्री राईले भन्नुभयो,“जिल्लामा पहिलो पटक राष्ट्रियस्तरको भलिबल प्रतियोगिता गरेका छौँ । कोशी प्रदेश सरकारको मुख्य प्रायोजनमा यहाँ भलिबल प्रतियोगिता सञ्चालन गरेका हौँ ।भावी दिनमासमेत यस्ता खेल सञ्चालनमा कोशी प्रदेशले ध्यान दिनेछ ।”
समय समयमा राष्ट्रियस्तरका खेलहरु जिल्लामा सञ्चालन गर्न आवश्यक रहेको उहाँको भनाइ छ । भावी दिनमा भोजपुरमा छनौट खेलहरु पनि सञ्चालन गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो । प्रायः ठूला खेलहरु तराईका जिल्लामा भईरहेकाले धेरे पहल कदमीले पहाडी जिल्ला भोजपुरमा राष्ट्रियस्तर भलिवल प्रतियोगिता सञ्चालन गर्न सफल भएको उहाँको भनाइ छ ।
खेल क्षेत्रको विकाससँगै ठूला योजना सञ्चालनको लागि पनि कोशी प्रदेश सरकारले रणनीति बनाएर अघि बढेको राज्यमन्त्री राईको भनाइ छ । कोशी प्रदेश सरकारले एक खर्ब ३९ अर्ब लगानी तयार गरेर ५४ वटा ठूला योजनाहरु छनौट गरेको उहाँले जानकारी दिनुभयो । ती योजनाहरुमा लोकल रक्सीलाई ब्रान्डिङ गर्ने देखी अन्य ठूला योजनाहरु रहेको उहाँको भनाइ छ । लगानी सम्मेलनमार्फत भोजपुरमा के गर्न सकिन्छ भनेर यहाँका स्थानीयहरुलाई पत्रचार गरिएको उहाँको भनाइ छ । लगानी सम्मेलनको लागि योजनाहरु अझै वृद्धि गर्दै लैजाने योजना रहेकाे समेत उहाँले जानकारी दिनुभयाे ।
“कोशी प्रदेश सरकारले समग्र क्षेत्रको विकासमा योजनाबद्ध रुपमा काम गरिरहेको छ” राज्यमन्त्री राईले भन्नुभयो,“सरकारले लगानी सम्मेलनको तयारी गरेको छ । हामीले विभिन्न क्षेत्रको विकासको लागि एक खर्ब ३९ अर्ब बराबरको योजना तयार गरेका छौँ ।” कोशी प्रदेश सरकारले रोजगारी सिर्जनासँगै गुणस्तरिय र समय सापक्ष शिक्षाको सुधारको लागिसमेत काम गरिहेको उहाँको भनाइ छ ।

















