
भोजपुर, ५ चैत । भोजपुरको रामप्रसादराई गाउँपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ । सोमबार जंगलको डढेलो बस्तीमा पस्दा घर,गोठ जलेका रामप्रसादराई ४ केराबारीका अग्नी पीडितलाई राहत वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष थामबहादुर राई र उपाध्यक्ष विरेन्द्र राई गतराति नै आगलागीको भएको स्थलमा पुगेर पीडितलाई राहत वितरण गर्नु भएको हो ।
गाउँपालिकाले पूर्ण क्षति भएका पीडितलाई तत्कालको लागि प्रति परिवार दुई बोरा चामल, एक थान त्रिपाल, दुई/दुई किलोग्रामका दरले दाल, चिनी, चिया, नुन र दश पोका तेल वितरण गरेको हो । त्यस्तै वडाले प्रतिपरिवार दुई बोरा चामल, दश पोका तेल, एक काटुन चाउचाउ, दुई/दुई किलोग्राम दाल र नुन वितरण गरेको वडाध्यक्ष बाबुकुमार राईले जानकारी दिनुभयो । गाउँपालिकाले आंशिक क्षति भएका तीन परिवार एक/एक थान त्रिपाल वितरण गरेको छ ।
यहाँ आगलागीबाट तीन घर पूर्ण क्षति र पाँच घरमा आंशिक क्षति पुगेको थियो । त्यस्तै स्थानीयको गोठ, सुँगुरको खोर ,बाख्रा खोर ग्वालीलगायत संचरना जलेर नश्ट भएका छन् । आगलागीमा परि स्थानीय ५२ वर्षीय ठाकुर कुमारी राई घाइते हुनु भएको छ । उहाँको जिल्ला अस्पताल भोजपुरमा उपचार भईरहेको छ । आगलागीमा परि तीन वटा सुँगुर मरेका छन् भने दुई वटा भैंसी जलेर घाइते भएका छन् ।
बनको डढेलो बस्तीमा पस्दा राज कुमार राई गजेन्द्र बहादुर राई र उमेश राईको घर मतान (ग्वाली)गोठ अन्नपात लता कपडा सुनचादीलगात सम्पूर्ण सामग्री जलेर नश्ट भएको छ । त्यस्तै आगलागीबाट तीर्थ कुमार राई, अधिराज राई, कोपिला राई, कम्भकर्ण राई र मान बहादुर तामाङको आंशिक क्षति पुगेको थियो ।
















