
भोजपुर, १९ फागुन । मातृ तथा शिशु मृत्युदर नियन्त्रण गर्न भाेजपुरमा कार्यक्रम सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय भोजपुरले कार्यक्रम सञ्चालनको तयारी थालेको हो । सोमबारमा मातृ तथा पेरिनेटल निगरानी प्रतिकार्य समिति तथा सरोकारवाला र स्वास्थ्यकर्मीको अभिमुखीकरणमार्फत कार्यक्रम सञ्चालनको विषयमा जानकारी दिइएको हो ।
सन २०३० सम्म मातृ तथा बाल मृत्युदर कम गर्ने दिगो लक्ष्यकासाथ कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालनको लागि जिल्लास्तरिय, पालिकास्तरिय, वडास्तरिय र समुदायस्तरमा समिति गठन गरेर जनस्तरसम्म विस्तारको तयारी भइरहेको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख राजुकुमार श्रेष्ठले जानकारी दिनुभयो । भोजपुरमा संस्थागत रुपमा गरिने प्रसुति बढेसँगै मृत्युदर घटेको उहाँको भनाइ छ ।
जिल्लामा ३१ वटा बर्थिङ सेन्टरबाट प्रशुति हुने गरेको उहाँको भनाइ छ । स्वास्थ्य कार्यालय भोजपुरको सभाहलमा सञ्चालन भइरहेको अभिमुखीकरण कार्यक्रममा स्थानीय तहका स्वास्थ्य संयोजक, स्वास्थ्यकर्मी तथा सरोकारवाला पक्षको सहभागिता रहेको छ । अभिमुखीकरण कार्यक्रम दुई मंगलबारसम्म सञ्चालन हुनेछ । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङको संयोजकत्वमा पाँच सदसीय समुदयमा हुने मातृ तथा पेरिनेटल प्रतिकार्य जिल्ला स्तरिय समिति समेत गठन गरिएको छ ।