भोजपुरमा दुई चरणमा एचपिभी खोप अभियान सञ्चालन गरिदै


भोजपुर, १५ माघ । भोजपुरमा माघ २२ गतेबाट ह्युमन पापिलोमा भाइरस(एचपिभी) खोप अभियान सञ्चालन गरिने भएको छ । पाठेघरको क्यान्सर विरुद्ध दिईने यो खोप दश वर्षदेखी १४ वर्षसम्मका किशोरीलाई लक्षित गरेर सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

यो खोप अभियान मुख्य रुपमा कक्षा ६ देखी कक्षा १० सम्म पढिरहेको किशोरीलाई लक्षित गरेर सञ्चालन हुने स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख राजुकुमार श्रेष्ठले जानकारी दिनुभयो । सो उमेर समुहका विद्यालय बाहिरका किशोरीलाई पनि खोप दिइने उहाँको भनाइ छ । “एचपीभी पाठेघर मुखको क्यान्सर हुन नदिनका लागि लगाइने खोप हो”प्रमुख श्रेष्ठले भन्नुभयो,“यो खोपले बढ्दो पाठेघरको क्यान्सर रोग रोकथामको लागि सहयोग गर्छ । दश वर्षदेखी १४ वर्षसम्मका किशोरीलाई लक्षित गरेर दुई चरणमा यो अभियान सञ्चालनको तयारीमा रहेका छौँ ।”
खोप अभियान सञ्चालनको लागि तयारी पुरा भएको मंगलबार स्वास्थ्य कार्यालयमा आयोजित कार्यक्रममार्फत जानकारी दिइएको छ । खोप वितरणको लागि यहाँका लक्षित समुहका विद्यालयमा अध्ययनरत र विद्यालय बाहिर रहेका किशोरीहरुको तथ्याङ्क संकलनको काम सम्पन्न भएको कार्यालयले जनाएको छ ।

अभियान अन्तर्गत जिल्लाका नौ वटै स्थानीय तहका कक्षा ६– १० मा पढ्ने छ हजार ७४२ र विद्यालय बाहिर रहेका एक सय ५९ किशोरीलाई खोप प्रदान गरिने स्वास्थ्य कार्यालय भोजपुरको भनाइ छ । खोप कार्यक्रम सञ्चालनको लागि दुई सय २५ खोप केन्द्र निर्धारण गरेर दुई सय २५ जना स्वास्थ्यकर्मी र चार सय ५० जना स्वयम सेवक परिचालन गरिने स्वास्थ्य कार्यालयका काेल्डचेन मिरिक्षक अधिकृत तार्केश्वर सिंहले जानकारी दिनुभयो ।
अभियानलाई दुई चरणमा सञ्चालन गरिने कार्यालयले जनाएको छ । पहिलो चरण अर्थात माघ २२ देखी २४ गतेसम्म भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसादराई गाउँपालिका, हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकामा अभियान सञ्चालन गरिने उहाँको भनाइ छ ।
त्यस्तै दोश्रो चरणमा माघ २७ गतेबाट २९ गतेसम्म षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, पौवादुङमा गाउँपालिका र अरुण गाउँपालिकामा खोप अभियान सञ्चालन हुने कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार