
भोजपुर, २ बैशाख । भोजपुरको मुन्दुम पदमार्गको प्रवद्र्धन गर्न महोत्सव शुरु भएको छ । नेपाल सरकारको घुम्नै पर्ने एक सय गन्तव्यमा पर्न सफल यो पदमार्गको प्रवद्र्धन गर्ने लक्ष्यले साँस्कृति, पर्यटन तथा कृषि मेला शुरु भएको हो । मुन्दुम भ्रमण वर्ष सन २०२५ लाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रम माघ पाँच गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री बन्द्रीप्रसाद पाण्डेले मंगलबार उद्घाटन गर्नु भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले देशको भाषा, संस्कार, सस्कृतिको विकास गरेर नेपाललाई खुल्ला साँस्कृतिको संग्रालयको रुपमा विकास गर्न सकिने बताउनुभयो । पर्यटनको मध्यमबाट आगामी दिनमा हजारौँ नागरिकलाई स्वरोजगार बनाउन सकिने उहाँको भनाइ छ । सरकारले देशका विभिन्न पदमार्गमा देश, विदेशका नागरिकलाई हिडाउन चाहेको उहाँको भनाइ छ । पर्यटनको माध्यमबाट राज्यको जिडीपी बढाउन सकिने मन्त्री पाण्डले बताउनुभयो ।मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ गाउँपालिका ४ को पर्यटकीय क्षेत्र चखेवा भञ्याङमा महोत्सवको सञ्चालन भईरहेको छ । महोत्सवमा पर्यटकलाई लक्षित गरेर स्थानीय परिकारसँगै राडीपाखीलगायतको प्रर्दशनी राखिएको आयोजक चखेवा बजार तथा शहरीकरण व्यवस्थापन समितिले जनाएको छ ।
महोत्सवमा पयर्टकलाई लक्षित गरेर स्थानीय विभिन्न जातजातिको सँस्कार, सँस्कृतिसँगै झाँकी प्रर्दशन गरिएको छ । महोत्सवमा जैविक(अर्गानिक) खानाका परिकार तथा प्रर्दशनी राखिएको छ । पर्यटकलाई लक्षित गरेर कोदो, फापर, भुटेको मकै, गुन्द्रुकसँगै स्थानीयस्तरका परिकार रहेको आयोजकको भनाइ छ । कृषि, पर्यटन तथा स्थानीय संस्कार,सँस्कृतिको विकास तथा प्रर्वद्धन गर्न मुन्दुम भ्रमण वर्षलाई लक्षित गरेर महोत्सवको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । स्थानीय उत्पादनको बजारीकरणको लागि महोत्सवमार्फत टेवा पुग्ने उहाँको भनाइ छ ।“गाउँपालिकाले कृषि र पर्यटनको विकासमा जोड दिएको छ” उपाध्यक्ष राईले भन्नुभयो,“महोत्सवमार्फत यहाँका सम्भावनाको उजागरसँगै कृषि उत्पादनहरुको बजारीकरणमा जोड दिएका छौँ । यसले यहाँको सम्पूर्ण क्षेत्रको विकासमा टेवा पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ ।”
यहाँको कृषि र पर्यटन क्षेत्रको विकासमा योजनाबद्ध रुपमा काम गरिरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । ‘कृषि, पर्यटन र साँस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार’ भन्ने मुल नाराका साथ यहाँको विकासका गतिविधि अघि बढाएको अध्यक्ष बस्नेतको भनाइ छ । “मुन्दुम भ्रमण वर्ष २०२५ लक्षित गरेर महोत्सवको सञ्चालन गरेका छौँ”अध्यक्ष बस्नेतले भन्नुभयो,“ महोत्सवको माध्यमबाट मुन्दुम पदमार्गको थप विकास तथा विस्तारको जोड दिएका छौँ । यो भ्रमण वर्षमा एक लाख पर्यटक भित्राउने हाम्रो लक्ष्य छ ।”