खाद्य गोदामबाट चामल वितरणले स्थानीयलाई राहत


भोजपुर, २६ पुस । खाद्य गोदामबाट सरल र सुफत मुल्यमा चामल वितरणले भोजपुरका नागरिकलाई राहत मिलेको छ । गोदामबाट बजार मुल्य भन्दा सस्तो मुल्यमा चामल वितरण गरिएसँगै गरिव तथा विपन्न नागरिकलाई राहत मिलेको हो । यो वर्षको असोज महिनाको ७ गतेबाट माघ २ गतेसम्म स्थानीय नागरिकलाई प्रतिकेजी रु. पाँच रुपैयाँ छुटमा चामल वितरण भईरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय भोजपुरका प्रमुख सन्तोष कुमार शाहले जानकारी दिनुभयो । गोदामबाट अहिले २५ केजीको स्टीम जिरा मसिनो चामल रु. दुई हजार १२५ र अरुवा सोना मन्सुली चामल प्रतिबोरा रु. एक पाँच सय रुपैयाँमा बिक्री भईरहेको उहाँले

जानकारी दिनुभयो । स्थानीयको चामलको मागलाई पूर्ति गर्नको लागि विगतका वर्षभन्दा यहाँ आउने चालमको मात्रा बढाएको प्रमुख शाहको भनाइ छ । गत वर्षसम्म यहाँ वार्षिक रुपमा एक हजार क्वीन्टल चामल आउने गरेको भएपनि स्थानीयको माग बढेपछि अहिले मात्रा बढाएर एक हजार पाँच सय क्वीन्टल पु¥याइएको उहाँले जानकारी दिनुभयो । “स्थानीयको मागलाई ध्यानमा राखेर यहाँ आउने चामलको मात्रा बढाएका छौँ”प्रमुख शाहले भन्नुभयो,“मुख्य रुपमा हामीले गरिव तथा  आर्थिक रुपमा विपन्न परिवारलाई प्राथमिकतामा राखेर चामल वितरण गरिरहेका छौँ । औषतमा मासिक रुपमा एक सय २५ क्वीन्टलसम्म वितरण भईरहेको छ ।”स्थानीयको मागलाई ध्यानमा राखेर गोदामबाट चिनी पनि वितरण थालिएको प्रमुख शाहले बताउनुभयो । गोदाममा अहिले स्थानीयलाई वितरणको लागि दश क्वीन्टल चिनी मौज्दात रहेको उहाँको भनाइ छ । गोदामबाट चामलसँगै पछिल्लो समयमा आएर चिनी वितरण थालिएको हो ।

कार्यालयबाट खाद्य सामग्री वितरणले नागरिकलाई राहतसँगै बजार मुल्यलाई सन्तुलनमा राख्न भूमिका खेल्ने उहाँको भनाइ छ । कार्यालयबाट सार्वजनिक विदा बाहेक अन्य समयमा नियमित रुपमा चामल वितरण भईरहेको प्रमुख शाहले जानकारी दिनुभयो ।“विगतमा चाडवाडको बेलामा बढी मात्रामा चामल वितरण हुन्थ्यो”प्रमुख शाहले भन्नुभयो,“स्थानीयले सहज रुपमा चाहिएको समयमा चामल लिन सकुन भन्नका लागि अहिले हामीले नियमित रुपमा वितरण गरिरहेका छौँ । यसले टाडा तथा दुर्गम क्षेत्रबाट आएका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ ।”

सदरमुकाम बाहिरका स्थानीयलाई सहज रुपमा चामल वितरणको लागि हतुवागढी गाउँपालिकामा बन्द अवस्था रहेको खाद्य डिपोलाई पनि सञ्चालनमा ल्याउने तयारी भईरहेको प्रमुख शाहले बताउनुभयो । स्थानीयको चामलको मागलाई पुरा गराउनको लागि भोजपुर सदरमुकाममा आउने चामलको मात्रालाई पाँच हजार क्वीन्टल र घोडेटार डिपोमा तीन हजार क्वीन्टल चामल पु¥याउने लक्ष्य रहेको कार्यालयले जनाएको छ । घोडेटारमा रहेको खाद्य डिपो दश वर्षे सशस्त्र द्धन्दकालमा चामल लुटिएपछि बन्द अवस्थामा रहेको छ ।
“जिल्लामा खाद्य संकट आउने नदिनको लागि हामीले यहाँ आउने चामललाई पाँच हजार क्वीन्टल पु¥याउने लक्ष्य लिएका छौँ” उहाँले भन्नुभयो,“दक्षिणी क्षेत्रका नागरिकलाई यहाँसम्म चामल लिन आउन धेरै समस्या छ । त्यसैले त्यो क्षेत्रका स्थानीयबासीलाई ध्यानमा राख्दै घोडेटार डिपोलाई सञ्चालनको लागि पहल थालेका छौँ ।”
पछिल्लो छ महिनाको अवधिमा करिव एक हजार दुई सय क्वीन्टल रु. ८० लाख बराबरको चामल स्थानीयले खपत गरेको कार्यालयको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार