भोजपुरमा सडकको मर्मत सम्भारका लागि हेरालु परिचालन


भोजपुर, २५ पुस । भोजपुरमा सडकको मर्मत,सम्भारको लागि सडक हेरालु परिचालन गरिएको छ । यहाँ विस्तार भएका पक्की तथा कच्चीको मर्मत सम्भारको लागि सडक हेरालु (सडक मर्मत सम्भार कर्ता) परिचालन गरिएको हो । कोशी प्रदेश सरकारले प्रादेशिक सडकमा सूचिकृत गरेका सडकको मर्मत सम्भारको लागि सडक हेरालु राखिएको हो । पहिलो चरणमा जिल्लाको मुख्य सडक मार्ग रुपमा रहेको भोजपुर–टक्सार–कोटडाँडा–पिखुवा–डढुवा सडक खण्डको २१ किलोमिटरको मर्मत सम्भारको लागि दश जना हेरालु राखिएको छ ।

कोशी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय भोजपुरले उनीहरुलाई नियुक्ती दिएर काममा खटाएको हो । हेरालुहरुले दश खण्डमा विभाजन गरेर यो सडकको मर्मत सम्भारको काम शुरु गरेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताउनुभयो । हेरालुले निरन्तर रुपमा सडकमा काम गर्ने भएकाले सानो असावधिका कारण सडक विग्रिएर राज्यको ठूलो क्षति हुनबाट बच्ने उहाँको भनाइ छ । “हेर्दा सामन्य काम जस्तो देखिन्छ” प्रमुख रेड्डीले भन्नुभयो,“तर सडकको सुरक्षाको लागि हेरालुको निकै ठूलो भूमिका हुन्छ । उनीहरुले नियमित रुपमा सडकको हेरचाहसँगै मर्मत सम्भार गर्ने भएकाले राज्यको ठूलो क्षति हुनबाट बचाउछ । सडकको बचावटसँगै स्थानीयलाई रोजगारी प्रदान गर्ने लक्ष्यले प्रदेश सरकारले यो कार्यक्रम सञ्चालन गरेको छ ।”

अहिले एउटा सडकमा मात्र हेरालुको व्यवस्था गरिएको भएपनि भावि दिनमा प्रदेश सरकारको प्रादेशकि सडकमा सूचीकृत भएका अन्य सडकमा पनि हेरालु राख्ने उहाँको भनाइ छ । छनौटमा परेकाहरुलाई आवश्यक अभिमुखीकरण कार्यक्रममार्फत कामको विषयमा जानकारीसँगै व्यक्तिगत सुरक्षाका सामान र काम गर्दा चाहिने सामग्रीसहित कामको जिम्मेवारी दिइएको लेखा अधिकृत चेत बहादुर मोक्तानले जानकारी दिनुभयो । उनीहरुले जिल्ला दररेटले निर्धारण गरे अनुसारको ज्याला पाउने उहाँको भनाइ छ ।

हेरालुहरुले सडकको सतह मिलाउने, सामन्य पहिरो हटाउने, सडकमा रहेका ढुङ्गा हटाउने नालि कटाउने, सडक सरसफाई गर्नेलगायतको काम गर्ने कार्यालयका प्रशासन शाखा प्रमुख अभिशेक बस्नेतले जानकारी दिनुभयो । हेरालुलाई सडकमा काम गर्दा अपनाउनुपर्ने सावधानी, काम गरेबापत पाइने सेवा सुविधा, कामको प्रकृति, काम गर्ने समयलगायतका विषयमा जानकारी गराउने उद्धेश्यले कार्यालयले एक दिने अभिमूखीकरण कार्यक्रम गरेर काममा खटाएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार