भोजपुर, १९ पुस । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि शिक्षक, विद्यार्थी र अभिभावकलाई उत्पे्रणात्मक कार्यक्रम सञ्चालन गरिएको छ । विद्यालयको गुणस्तर सुधारको लागि भोजपुरको टेम्केमैयुङ गाउँपालिका ४ नागीले शिक्षक, अभिभावक र विद्यार्थीलाई लक्षित गरेर उत्प्ररेणात्मक कार्यक्रम सञ्चालन गरेको हो ।
सरोकारवाला पक्षहरुलाई शैक्षिक सुधारको लागि खेल्नु पर्ने भूमिकाको विषयमा उत्प्रेरणा थप्ने लक्ष्यले कार्यक्रम आयोजना गरिएको टेम्केमैयुङ ४ का वडाध्यक्ष हर्कराज राईले बताउनुभयो । विगतका वर्षहरुबाट नै विभिन्न अभियान सञ्चालन गरेर सामुदायिक विद्यालयको गुस्तर सुधारमा वडा कार्यालयले आवश्यक भूमिका खेलिरहेको उहाँको भनाइ छ ।
“शैक्षिक सुधारका लागि वडाको तर्फबाट विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छौँ” वडाध्यक्ष राईले भन्नुभयो,“यो वर्ष पनि वडाको सक्रियतामा एक दिने उत्प्रेरनात्मक कार्यक्रम सञ्चालन गरको छौँ ।
वडा भित्रका चण्डेश्वरी माध्यमिक विद्याललय, ज्ञानोदय प्राथमिक विद्यालय हुँगे र सारदा प्राथमिक विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीलाई आ–आफ्नो जिम्मेवारीको विषयमा प्रशिक्षण दिइएको हो । कार्यक्रमको सहजिकरण प्रशिक्षक नवराज भट्टराईले गर्नु भएको हो । सामुदायिक विद्यालयको गुणस्तर सुधारको लागि सवै पक्ष जिम्मेवार बन्नु पर्ने सहभागिहरुको भनाइ छ । वडाले शैक्षिक सुधारको लागि गरिरहेको कामले उत्प्रेरणा थप्ने सहभागिहरुको प्रतिक्रिया थियो ।