भोजपुर, १८ भदौ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ लेखर्कमा रहेको शिंहदेवी माध्यमिक विद्यालयको ६९ औँ बार्षिक उत्सवले सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको वार्षिक उत्सव आइतबार सम्पन्न भएको हो । बार्षिक उत्सवको अवसरमा विभिन्न प्रतियोगिताहरु सञ्चालन गरिएको थियो । वार्षिक उत्सव समारोह कोशी प्रदेश राज्य मन्त्री सिर्जना राईको प्रमुख आथित्यता र गाउँपालिका उपाक्ष्यक्ष रमादेवी राईको विषेश आथित्यतामा समापन गरिएको हो ।
बार्षिक उत्सवको अवसरमा विद्यालयले राज्यमन्त्री राईलाई सम्मानसमेत गरेको छ । यहि विद्यालयमा अध्ययन गरेर गरिमामय पदमा पुग्न सफल भएकोमा उहाँलाई विद्यालयले सम्मान गरेको हो । उहाँ यस विद्यालयको पहिलो एस एल सी व्याजको प्रथम छात्रा समेत हुनु हन्छ ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति राईले शैक्षिक क्षेत्रको सुधारसँगै जिल्लाको समग्र विकासमा आफ्नो तहबाट भूमिका खेलिरहेको बताउनुभयो । विद्यालयको भौतिक संरचनाको निर्माण तथा विकासमा आवश्यक बजेट व्यवस्थापनमा पहल गर्नेसमेत उहाँले बताउनुभयो ।
“शैक्षिक क्षेत्रको सुधारसँगै समग्र जिल्लाको विकासमा आफ्नो तहबाट भूमिका खेलिरहेकी छु” उहाँले भन्नुभयो,“मैले पाएको जिम्मेवारीलाई पूर्ण रुपमा निर्वाह गरिरहेकी छु । शिर झुकाउने काम गर्ने छैन । यहाँको भौतिक संरचनाको विकासमा आवश्यक बजेट व्यवस्थापनमा पहल गर्नेछु ।”
कार्यक्रममा बोल्दै टेम्केमैयुङ गाउँपालिका उपाक्ष्यक्ष रमादेवी राईले गाउँपालिकाले शैक्षिक सुधारमा लागि योजनाबद्ध रुपमा काम गरिरहेको बताउनुभयो । गाउँपालिकाले आवश्यक सुधारका कार्यक्रम सञ्चालन गरिरहेको भएपनि यसअघिको एसईईको परिक्षामा सोचे अनुसारको परिणाम आउन नसकेको उहाँको भनाइ छ । शिक्षा क्षेत्रको सुधारमा सवै पक्ष गम्भिर बन्न आवश्यक रहेको उहाँकोले बताउनुभयो । एक पक्षलाई मात्र दोष देखाएर शिक्षामा सुधार नहुने उहाँको तर्क छ ।
“शैक्षिक सुधारका लागि गाउँपालिकाले आवश्यक काम गरिरहेको छ”उपाध्यक्ष राईले भन्नुभयो,“ तर पनि उल्लेख्य रुपमा शिक्षाको सुधार हुन सकेको छैन । शैक्षिक सुुधारका लागि सरोकारवाला सवै पक्ष गम्भिर बन्न आवश्यक छ ।”
कार्यक्रममा बोल्दै वडाध्यक्ष नभराज माङ्पाहाङ्ले वडाको तहबाट विद्यालयको शैक्षिक सुधारका क्षेत्रमा आवश्यक सहयोग गर्दै आएको बताउनुभयो ।
वार्षिक उत्सवको अवसरमा विद्यालयका प्रध्यानाध्यापक राजधन राईले विद्यालयको हालसम्मको शैक्षिक तथा भौतिक अवस्थासँगै विद्यालयको आयव्याय सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभयो । साथै विद्यालयको भौतिक संरचनाहरुको सुधारका लागि बजेट व्यवस्थापनको गर्न राज्यमन्त्री र गाउँपालिका उपाध्यक्ष समक्ष माग पत्रसमेत हस्तान्तरण गर्नुभयो ।
उक्त कार्यक्रमको अवसरमा विद्यालयमा अक्षय कोषसमेत स्थापना गरिएको छ । शरणमाया राईका छोरा बुहारीहरुले उहाँ ८९ वर्ष पुगेको अवसरमा एक लाख एक हजार १०१ रुपैँयाको अक्षयकोष स्थापना गरिदिनु भएको हो ।
छोरा बुहारीहरु अनिल राई,शान्ता कुमारी राई, कर्णकुमार राई, शान्ता राईले उक्त राशीको ‘शरणमायाराई पुन्य अक्षय कोष’ स्थापना गरिदिनु भएको हो । उक्त अक्षय कोषको व्याजबाट कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने एक जना छात्र र एक जना छात्रालाई पुरस्कृत गरिने उहाँको छोरा अनिल कुमार राईले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण राई अध्यक्षमा भएको कार्यक्रममा शिक्षक अभिभावन संघका अध्यक्ष एगिन्द्रराज दंगाल, छिमेकी विद्यालयका प्रध्याध्यापन, राजनितिक दल, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।