पौवादुङमाका उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित


भोजपुर, १६ असार । विद्यार्थीलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिका भरिका उत्कृष्ट अंक ल्याउने नौजना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई ‘गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम’अन्तर्गत पुरस्कृत गरिएको हो । कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका विद्यालयमा अध्ययनरत कक्षा ५, ८ र १० का उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।

तिवारीभञ्याङ माध्यमिक विद्यालय, मानेडाँडा माध्यमिक विद्यालय, पञ्चकन्या माध्यमिक विद्यालय, राधकृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति दिएको गाउँपालिकाले जनाएको छ ।पुरस्कृत विद्यार्थीलाई गाउँपालिकाका अध्यक्ष किरण राई र कोशी प्रदेश राज्य मन्त्री सिर्जना राईले नगद सहित प्रमाणपत्र वितरण गर्नु भएको हो । गाउँपालिका अध्यक्ष राईले आर्थिक अवस्था कमजोर भएका तथा विद्यालयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई प्रोत्साहित गर्दै नियमित विद्यालय आउने वातावरण निर्माणका लागि गाउँपालिकाले छात्रवृत्ति वितरण गरेको बताउनुभयो ।

‘गाउँपालिकाले यहाँका विद्यालयलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिहेको छ’अध्यक्ष राईले भन्नुभयो‘ यसले विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुगेको छ। अहिले छात्रवृत्तिले विद्यार्थीको पठनपाठनमा थप टेवा पुग्नेछ।’ गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रमअन्तर्गत छनौट भएर पुरस्कृत भएकोमा विद्यार्थीहरू समेत हर्षित देखिएका छन्। त्यस्तै गाउँपालिका उत्कृष्ट दुई विद्यालयलाई नगद प्रमाण पत्रले सम्मान गरेको छ । माध्यमिक विद्यालय तर्फ उत्कृष्ट बन्ने राधकृष्ण माध्यमिक विद्यालयलाई नगद रु. तीन लाख र आधारभूत विद्यालय तर्फ उत्कृष्ट बन्ने महादेवी आधारभूत विद्यालयलाई नगद रु. दुई लाखले सम्मान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार