शैक्षिक सुधारका गतिविधिमा तीव्रता दिँदै भोजपुरको षडानन्द नगरपालिका


भोजपुर, १७ चैत । भोजपुरको षडानन्द नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधारका गतिविधिलाई तीव्रता दिएको छ  । वर्षेनी खस्किदो शैक्षिक गुणस्तर सुधारको गर्न नगरपालिकाले सुधारका कार्यक्रममा अघि बढाएको हो ।

विद्यालयहरुमा देखिएका विद्यमान समस्याको पहिचान र निराकरण गर्न अनुगमन  तथा मुल्याङ्कनमा जोड दिइएको छ । विगतका वर्षहरुमा पालिकाले कक्षा ५ र कक्षा ८ को परिक्षा पालिकास्तरबाट सञ्चालन गरेर उत्तरपुस्तिका सम्बन्धित विद्यालयलाई परिक्षणकोलागि दिँदै आएको थियो ।  तर त्यसमा सुधार गरेर एक ठाउँमा ल्याएर सवै शिक्षकहरुको उपस्थितिमा परिक्षण गर्ने व्यवस्था मिलाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाँइले बताउनुभयो । भावी सुधारका कार्यक्रमलाई थप व्यवस्थित गराउदै लैजाने उहाँको भनाइ छ ।

शैक्षिक पात्रो निर्माण गरेर सवै सामुदायिक विद्यालयमा एक साथ सुधारका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको प्रशासकीय अधिकृत चापागाँईले बताउनुभयो । सवै विद्यालयको परिक्षा पद्धतीमा एक रुपता ल्याउने उद्धेश्य रहेको उहाँले बताउनुभयो । कक्षा १ देखी ३ सम्म स्थानीय पाठ्यक्रम लागु गर्ने र कक्षा ४ देखी कक्षा ८ सम्मको निर्माण गरी अघि बढ्ने प्रयत्न भईरहेको नगरपालिकाको भनाइ छ ।

“सामुदायिक विद्यालयको गुणस्तर सुधारमा हामीले जोड दिएका छौँ”प्रशासकीय अधिकृत चापागाँईले भन्नुभयो,“नगरपालिकामा शिक्षाको आवश्यक सुधारको लागि के गर्न सकिन्छ भनेर अनुगमनलाई प्राथमिकताका साथ अघि बढाएका छौँ। देखिएका समस्याहरुको पहिचान गरेर थप कार्यक्रमलाई अघि बढाएका  हौँ । कक्षा ५ र कक्षा ८ को परिक्षालाई थप व्यवस्थित बनाएका छौँ ।”

शिक्षकहरुको मनोवल उच्च राख्न उनीहरुको समस्या पहिचान गरेर तालिमसँगै आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको भनाइ छ । अनुगमनका क्रममा देखिएका समस्याहरुको समाधानसँगै दण्ड सजायकोसमेत व्यवस्था गर्ने प्रशासकीय अधिकृत चापागाँईले बताउनुभयो । बालबालिकाको सिकाई उपलब्धि बृद्धि गर्न पठनपाठन शैलीमासमेत सुधार ल्याउने योजनाका साथ काम अघि बढाएको उहाँको भनाइ छ ।

नगरपालिकामा रहेका सम्पूर्ण ७० ओटा नै विद्यालयको स्थलगत अनुगमन गरेर आवश्यक सुधारको प्रक्रिया अघि बढाएको नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो ।सामुदायिक विद्यालयमा लगानी अनुसारको प्रतिफल नदेखिएपछि विद्यालयहरुको शैक्षिक सुधार अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ । नगरपालिका, शिक्षक र अभिभावकको सकृयता बढाएर  गुणस्तरमा सुधार ल्याउन पहल थालेको उहाँको भनाइ छ ।

“वर्षेनी सामुदायिक विद्यालय गुणस्तर खस्किएकोप्रति नगरपालिका चिन्तित छ”प्रमुख उदासले भन्नुभयो, “शिक्षामा सुधार ल्याउन नगरपालिकाको तर्फबाट हामीले आवश्यक सुधारका कार्यक्रम अघि सारेका छौँ । यहाँ देखिएका समस्यामा गम्भिरढंगले अध्ययान गरेर सुधारका कार्यक्रम थप प्रभावकारीका साथ अघि बढाउछौँ ।”

नगर क्षेत्रको शिक्षाको सुधारका लागि योजनाबद्ध रुपमा काम बढाएको उपप्रमुख प्रमिला राईले बताउनुभयो । भावी दिनमा शैक्षिक सुधारका कार्यक्रमलाई थप व्यवस्थित प्रभावकारी बनाउने उद्धेश्य रहेको उहाँको भनाइ छ । शिक्षालाई समय सापक्षसँगै गुणस्तरियढंगले अघि बढाउन नगरले आवश्यक पहल गरिरहेको उपप्रमुख राईले बताउनुभयो ।

 “हामीले शैक्षिक सुधारको अभियान थालनी गरेका छौँ ।यो अभियानमार्फत यहाँको हालको शैक्षिक मापनको लागि पनि गरिरहेका छौँ”उपप्रमुख राईले भन्नुभयो,“ यहाँबाट सुधारका थप कार्यक्रम सञ्चालन गछौँ । यसले शिक्षाको सुधारमा सहयोग पुग्ने देखिन्छ । नगरले भौतिक संरचनाको विकाससँगै प्रविधिमैत्री शिक्षणमा जोड दिएको छ ”

नगरपालिकाले सञ्चालन गर्ने योजना तथा कार्यक्रमलाई प्रभावकारीढंगले सञ्चालनको गर्नको लागि योजना वडास्तर सम्झौता गर्ने, नगरपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी परिचय पत्र वितरण गर्ने, दुर्गम क्षेत्रमा विभिन्न खालका स्वस्थ्य शिविर सञ्चालन गर्ने, शिक्षक छनौट र परिक्षा पद्धतीलाई व्यवस्थित बनाउनेलगायत काम सञ्चालन गरिरहेको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार