मुन्दुम पदमार्गको प्रवद्र्धन गर्न चखेवामा बैशाख १ बाट महोत्सव


भोजपुर, १३ चैत । नेपाल सरकारको घुम्नै पर्ने एक सय गन्तव्यमा पर्न सफल भोजपुरको मुन्दुम पदमार्गको प्रवद्र्धन गर्न महोत्सव हुने भएको छ । यो क्षेत्रको विकाससँगै प्रवद्र्धन गर्ने लक्ष्यले नयाँ वर्षको अवसरमा २०८१ बैशाख १ गतेदेखी ३ गते सम्म ‘कृषि, पर्यटन तथा साँस्कृति महोत्सव–२०८१ सञ्चालन हुने भएको हो । मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ गाउँपालिका ४ को पर्यटकीय क्षेत्र चखेवा भञ्याङमा महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा पर्यटकलाई लक्षित गरेर स्थानीय परिकारसँगै राडीपाखीलगायतको स्टल रहने आयोजक चखेवा बजार तथा शहरीकरण व्यवस्थापन समितिले जनाएको छ ।

महोत्सवमा पयर्टकलाई लक्षित गरेर स्थानीय विभिन्न जातजातिको सँस्कार सँस्कृतिसँगै झाँकी प्रर्दशन गरिने समितिका अध्यक्ष आई कुमार राईले बताउनुभयो । महोत्सवमा जैविक ( अर्गानिक) खानाका परिकार तथा प्रर्दशनी रहने उहाँको भनाइ छ । पर्यटकलाई लक्षित गरेर कोदो, फापर, भुटेको मकै, गुन्द्रुकसँगै स्थानीयस्तरमा पालिएका भेडा, सुँगुर,कुखुरालगायतको परिकार रहने अध्यक्ष राईको भनाइ छ ।

“पर्यटन तथा कृषि क्षेत्रको विकासका लागि चखेवामा महोत्सवको तयारी गरिएको छ” अध्यक्ष राईले भन्नुभयो,“महोत्सवमा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने खालका प्रर्दशनीसँगै स्थानीय अर्गानिक परिकार रहने छ । महोत्सव अवधिभर हामीले सिसाजन्य सामग्रीको प्रयोगमा रोक लगाएका छौँ ।” महोत्सव अवधिभर मुन्दुम पदमार्गको बृतचित्र प्रर्दशनी, साँस्कृतिक झाँकी प्रदर्शन,बाघखोरबाट चखेवासम्म मुन्दुम दौड, कविता बाचन प्रतियोगिता तथा विभिन्न कलाकारहरुको प्रस्तृति रहने आयोजकले जनाएको छ । महोत्सवमा स्टलहरुको प्रदर्शनी भने २५ गतेसम्म रहने पर्यटन क्षेत्रका विज्ञ विवेक कुलुङले बताउनुभयो । नेपाल भ्रमण वर्ष २०२५ लाई लक्षित गरेर महोत्सवको आयोजना गरिएको उहाँको भनाइ छ । महोत्सवको लागि टेम्केमैयुङ गाउँपालिकाले रु। दश लाख बजेट विनियोजन गरेको छ ।

महोत्सवमा कविहरु ज्ञानमणि नेपाल, गणेश रसिक, बुलु मुकारुङ, बसन्त मुकारुङ, श्रवण मुकारुङ, शुभ मुकारुङ, राजन मुकारुङ, पारस मुकारुङ, दिनेश बान्तावा, अम्मर बान्तु, कतिवा राईलगायतको प्रस्तुति रहने आयोजकको भनाइ छ । त्यस्तै कलाकारहरुमा दयाहाङ राई, भिषण मुकारुङ, कमलीकान्त भेटवाल, सुनिता थेगिम, बविता किराँती, चन्द्रकला राई, उमेश राईलगायतको प्रस्तुति रहने जनाइएको छ ।
उकालोओरालो हुँदै फैलिएको मुन्दुम पदमार्गबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजंघा, कुम्भकर्णलगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला हेर्न सकिन्छ । किराँत राईहरुको संस्कृतिसँग जोडिएकाले यो पदमार्गको नामकरण किराँत राईहरुको ‘मुन्दुम’ संस्कारबाट राखिएको छ । अग्ला हिमश्रृङखला, पहाडका अग्ला डाँडाहरु,तराइका समथर फाँटको मनोरमदृश्य अवलोकन गर्दै पदयात्रा गर्न सकिने भएकाले मुन्दुम पदमार्गमा पर्यटकहरुको आवगमन बढ्दै गएको छ ।

पदमार्गको आसपासमा निर्माण भएका किराँतहरुको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूला–ठूला घाँसे मैदान, स्थानीय गोठवालाहरुले पालेका चौरी, भेडीगोठलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित पार्ने गरेको छ । टेम्केमैयुङ गाउँपालिकाले‘कृषि, पर्यटन र साँस्कृतिक पूर्वाधार ःटेम्केमैयुङ विकासको आधार” भन्ने मुल नाराका साथ यहाँको कृषि र पर्यटन क्षेत्रको विकासमा योजनाबद्ध रुपमा काम गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार