भोजपुर, ३ चैत । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ६ कोटमा पञ्चवर्षिय आवधिक योजना निर्माण सम्वन्धि कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले निर्माण गर्न लागेको पञ्चवर्षिय आवधिक योजनामा वडाका कस्ता योजनालाई प्राथमिकता दिने तथा वडास्तरका योजना छनौटको लागि कार्यक्रम गरिएको हो । वडामा सरोकारवाला पक्षको उपस्थितिमा स्वाथ्य, शिक्षा र कृषिलाई प्राथमिकतामा राख्दै योजना छनौट गरिएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले जानकारी दिनुभयो । योजना छनौटले भावी दिनमा वडाको विकासको कामलाई सहज रुपमा सञ्चालनमा सहयोग पुग्ने वडाध्यक्ष नेपालले बताउनुभयो । वडामा स–योजना मात्र सञ्चालन भईरहेकोले गाउँपालिकाको आवधिक योजना बनेपछि ठूला तथा दुरगामी महत्व बोक्ने योजना सञ्चालन गर्न सकिने उहाँले जानकारी दिनुभयो ।
“गाउँपालिकाले निर्माण गर्न लागि आवधिक पञ्चवर्षिय योजनाको लागि हाम्रो वडाको योजना छनौटको गरेका छौँ” वडाध्यक्ष नेपालले भन्नुभयो,“यसले वडामा हुने विकासलाई दिगो र व्यवस्थित बनाउन सहजना हुन्छ भन्ने हामीले अपेक्षा लिएका छौँ ।” योजना छनौट यो वडाबाट शुरु गरिएको हो । यहाँका राजनितिक दल, सरकारी कार्यालय, विभिन्न संघ संस्था, विद्यालयका प्रधानाध्यापक, समाजसेवी बुद्धीजिवि लगायतको उपस्थितिमा योजना छनौट गरिएको वडासदस्य नविन श्रेष्ठले जानकारी दिनुभयो ।