भोजपुर, १९ फागुन । भोजपुरको रामप्रसादराई गाउँपालिकाले डाग्बुङ (गुँरास)पदमार्ग निर्माण गरेको छ । प्राकृतिक रुपमा मनोरम क्षेत्रलाई समेटेर डाग्बुङ(गुँरास)पदमार्ग निर्माण गरिएको हो । यो क्षेत्रमा रहेको नेपालको राष्ट्रिय फूल लालिगुँरासको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्यका साथ पदमार्ग निर्माण थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले बताउनुभयो । यसलाई मुख्य पर्यटन क्षेत्रको रुपमा स्थापित गराउने लक्ष्यको साथ निर्माण थालिएको उहाँको भनाइ छ । आन्तरिक तथा बाह्य पर्यटनको आवगमन बढाएर आर्थिक श्रोतको रुपमा जोड्न यहाँ पदमार्ग निर्माण गरिएको उहाले बताउनुभयो ।
“गुँरासको संरक्षणसँगै यो क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउने उद्धेश्यले पदमार्ग निर्माण गरिरहेका छौँ ”प्रमुख प्रशासकीय अधिकृत पोखरेलले भन्नुभयो,“यो प्राकृतिक रुपमा निकै सुन्दर क्षेत्र रहेकोले यसको विकासमा हामीले जोड दिएका छौँ ।यसलाई गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ ।” पदमार्ग निर्माणमा नेपाल जलबायु नमूना कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा रु. ३४ लाख खर्च गरिएको गाउँपालिकाले जनाएको छ । यस वर्षपनि सोहि कार्यक्रमको रु. २० लाख बजेटबाट काम निरन्तर भईरहेको छ । यहाँ पर्यटन मन्त्रालयबाट रु. १५ लाख बजेट प्राप्त भएको गाउँपालिकाको भनाइ छ । पर्यटन मन्त्री सुदन किराँतीको पहलमा पर्यटन मन्त्रालयबाट बजेट आएको गाउँपालिकाले जनाएको छ ।
रामप्रसादराई गाउँपालिका १ ओख्रेमा निर्माण भईरहेको यो स्थानलाई आधार बनाएर आन्तरिक पर्यटन सर्किट निर्माण गर्ने लक्ष्यका साथ काम भईररहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । हाल आख्रे बजारबाट करिव छ किलोमिटर पदमार्ग निर्माण भएको अध्यक्ष राईले बताउनुभयो । निर्माण भईरहेको पदमार्गलाई वडा ४ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुलीसम्म जोड्ने योजना रहेको छ । “हामीले अहिले डाग्बुङ पदमार्ग निर्माण गरिरहेका छौँ”अध्यक्ष राईले भन्नुभयो,“यो स्थान प्राकृतिक हिसाबले निकै राम्रो सम्भावना बोकेको क्षेत्र हो । गाउँपालिका भित्रका सबै पर्यटकीय क्षेत्रलाई समेटेर आन्तरिक पर्यटन सर्किट निर्माण गर्ने योजनाका साथ काम गरिरहेका छौँ ।”
पर्यटकलाई लक्षित गरेर यहाँ करिव एक सय रोपनी क्षेत्रमा चिया खेती विस्तार थालिएको अध्यक्ष राईले बताउनुभयो । यहाँ आउने पर्यटकलाई लक्षित गरेर घरबास (होमस्टे) निर्माण गरिने अध्यक्ष राईले जानकारी दिनुभयो । आउने पर्यटकलाई लक्षित गरेर आवश्यक संरचना निर्माणको काम पनि भइरहेको उहाँको भनाइ छ । यसलाई बृहत मुन्दुम ट्रेलसँग जोड्ने लक्ष्य रहेको अध्यक्ष राईले बताउनुभयो । “लालीगुँरासको संरक्षणसँगै यो क्षेत्रको बृहत्तर पर्यटन विकासमा जुटेका छौँ” अध्यक्ष राईले भन्नुभयो,“हाम्रो पालिकामा धेरै ऐतिहासिक ,धार्मिक तथा पर्यटकीय क्षेत्र रहेका छन् । यी क्षेत्रलाई पर्यटनसँग जोडेर आर्थिक श्रोतको रुपमा विकास गर्ने योजना छ ।यो डाग्बुङ पदमार्गलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने लक्ष्यका साथ काम गरिरहेका छौँ। । हामीले थालेको काममा साथ दिन पर्यटन मन्त्री सुदन किरातीको पहलमा रु. १५ लाख बजेट प्राप्त भएको छ । यसले हामीलाई थप हौसला थपेको छ ।”
लाँलीगुँराससँगैै फाटिला पहाडका चौरहरुले पर्यटकहरुको मन लोभ्याउने गरेको छ । यहाँ आउने पयर्टकले प्राकृतिक दृश्यको अवलोकन गर्दै आनन्द लिन सक्ने अध्यक्ष राईको भनाइ छ । यहाँबाट अग्ला हिमशृङ्लासँगै तराईका सुन्दर भू–भागको अवलोकन गर्न सकिन्छ ।
किराँत भाषामा डाग्बुङ अर्थात गुँरास भनेर यो पदमार्गको नामाकरण गरिएको हो । लालिगुँरास फुलेको समयमा यहाँ घुम्ने आउने पर्यटकको आवतजावत बढेको स्थानीयबासी गोविन्द भुजेलले बताउनुभयो । यहाँबाट सगरमाथा, मकालु कञ्चनजंग लगायतका ठूला हिमश्रृखलाको दृश्यवलोकन गर्न सकिने भुजेलको भनाइ छ । पदमार्ग निर्माणले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेकोले व्यापार व्यवसायसमेत बढ्दै गएको उहाँको भनाइ छ । “डाग्बुङ पदमार्ग निर्माणले आन्तरिक तथा बाह्य पर्यटकहरुको सङ्ख्या बढेको छ” उहाँले भन्नुभयो,“स्थानीय परिकारको स्वाद लिँदै प्राकृतिक मनोरञ्जन लिन मासिनहरु यहाँका आउने गरेका छन् ।”
रासस