भोजपुर, ५ माघ । भोजपुर नगरपालिका १० को महभिर खोलामा मोटरेवल पक्की पुल निर्माण सम्पन्न भएको छ । महभिर र खुरीला गाउँलाई जोड्ने महभिर खोलामा रु. दुई करोड सात लाख लागतमा पुल निर्माण गरिएको हो ।
२० मिटर लम्बाई रहेको पुलको सुनसरी ४ का प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन गर्नु भएको हो । पुलको उद्घाटन गर्दै सांसद कार्कीले यसले यहाँको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । “जनताको घरदैलोमा पुग्ने क्रममा यो खोलाले धेरै पटक मलाई पनि रोकेको थियो” उहाँले भन्नुभयो,“स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर यहाँ पक्की पुल निर्माण गर्न सम्पन्न गरेका छौँ । अबका बाँकी दिनमा यो पुलले यहाँको विकासको लागि महत्वपूर्ण भूमिका खेल्ने छ ।”
खोलामा काठे पुलबाट ओहोर दोहोर गर्दा स्थानीयबासीले जोखिमपूर्ण यात्रा गर्दै आएका थिए । धेरै मेहनतपछि यहाँ पुल लगाउन सफल भएको स्थानीयबासी नेपाली काङ्ग्रेसका जिल्ला सचिव तथा काङग्रेसको केन्द्रिय विभाग अन्तर्गत नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विषय विज्ञ चक्रबहादुर कार्कीले बताउनुभयो ।
“महभिर खोलामा पुल नहुँदा धेरै समस्या थियो” उहाँले भन्नुभयो,“धेरै समयको मेहनतपछि यहाँ पक्की पुल निर्माण गर्न सफल भएका छौँ । अव हामीलाई आवतजावतमा सहजता छपिएको छ । म आफैँले पनि धेरै ठाउँमा पहल गरेपछि निर्माण गर्न सफल भएका छौँ ।”
काफ्ले– महभिर –खुरिला सडक खण्ड पर्ने यो स्थानमा २०७५ सालबाट पुल निर्माण शुर गरिएको थियो । यहाँ नेपाल सरकारको आर्थिक सहयोगमा स्वीस सरकारको प्राविधिक सहयोग पुल निर्माण गरिएको हो ।