भोजपुर, २ माघ ।
भोजपुरको सबै भन्दा होचो स्थानमा रहेको प्रसिद्ध धार्मिक स्थल माइवेँनी ओझेलमा परेको छ । धार्मिक महत्व बोकेको यो पर्यटकिय स्थल प्रचार अभावले ओझेलमा परेको हो । समुन्द्रि सतहबाट एक सय ५३ मिटर उचाईमा रहेको यो स्थान हतुवागढी ९ हसनपुरमा रहेको छ । दूधकोशी र अरुण नदीको संगम स्थलमा रहेको माइवेँनीमा दर्शन गरे मनोकाङ्क्षा पुरा हुने धार्मिक विस्वासले मानिसहरु यो ठाउँमा पुग्ने गरेका छन् । दशक अघिसम्म यहाँ भव्यमेला लाग्ने गरेको भएपनि पछिल्लो समय मेला लाग्न छाडेको ७० वर्षिय स्थानीयबासी अशोक राईले जानकारी दिनुभयो । यहाँ कात्तिक पूर्णिमा र माघे सङ्क्रान्तीमा ठुलो मेला लाग्ने उहाँको भनाइ छ । माइवेँनीमा दर्शन गर्न तथा मेला भर्न भोजपुुर, उदयपुर, धनकुटा लगायत देशका विभिन्न ठाउँबाट भक्तजन आउने गरेको उहाँले बताउनुभयो ।
“यो पूर्वको एक प्रसिद्ध धार्मिक स्थल हो” उहाँले भन्नुभयो,“यसको निकै ठूलो धार्मिक महत्व छ । यहाँ दर्शन गर्नको लागि देशका विभिन्न ठाउँबाट मानिसहरु आउने गर्दथे । तर पछिल्लो समय यो स्थान ओझेलमा परेको छ ।”खास गरेर मानिसहरु माइवँेनीको दर्शनसँगै नदी पुजा गर्नको लागि यहाँ आउने गरेको उहाँको भनाइ छ । नेपालमा भएको दश वर्षे सशस्त्र द्धन्दसँगै यो स्थानमा मेला महोत्सव लाग्न छाडेको हतुवागढीका स्थानीबासी इन्द्र थापाले बताउनुभयो । यो क्षेत्रको प्रचार प्रसारमा ध्यान दिन सके यसले गाउँपालिकाको आर्थिक विकासमा टेवा पुग्ने थापाको भनाइ छ । “माइवेँनी आफैँमा प्रशस्त पर्यटकीय सम्भावाना बोकेको क्षेत्र हो” उहाँले भन्नुभयो,“यो जिल्लाको सवै भन्दा होचो स्थानमा रहेको पवित्र धार्मिक स्थल पनि हो । यसको विकासँगै प्रचार प्रसारमा ध्यान दिनसके गाउँपालिकाको दिगो आर्थिक श्रोतको रुपमा स्थापित गराउन सकिन्छ ।”
माइवेँनीको विकास तथा संरक्षणको लागि ध्यान दिँदै आएको हतुवागढी गाउँपालिकाले जनाएको छ । यहाँ पुग्नको लागि कोप्चेबाट अप्ठयारो ठाउँहरुमा पदमार्ग निर्माण तथा मन्दिरको संरक्षणसँगै यहाँ घेराबारा गरिएको गाउँपालिकाले जनाएको छ । माइवँेनी क्षेत्रको बृहत्तर रुपमा विकास गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । यसलाई गाउँपालिकासँगै जिल्लाको मुख्य धार्मिक स्थल तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको अध्यक्ष राईले जानकारी दिनुभयो । यो क्षेत्रलाई ग्रेट मुन्दुम मार्गसँग जोडेर पर्यटकीय क्षेत्रको रुपमा स्थापित गराउने उद्धेश्य रहेको अध्यक्ष राईको भनाइ छ । “माइवेँनी हतुवागढीको निकै ठूलो सम्पति हो” अध्यक्ष राईले भन्नुभयो,“यो एउटा सुन्दर धार्मिक पर्यटकीय गन्तव्य पनि हो । हामीले यसको विकास तथा संरक्षणमा ध्यान दिँदै आएका छौँ । तर यो क्षेत्रको बृहत्तर विकासका लागि गाउँपालिकाको बजेटले मात्र सम्भव छैन । यसको विकास लागि राज्यका विभिन्न निकायमा ध्यानाकर्षण गराउदै आएका छौँ ।” माइवेँनीबाट किरातहरुको आस्थाको केन्द्र खुवालुङ, अरुण, दूधकोशी र तमोर नदीको संगम स्थल त्रिवेनी तथा बराह क्षेत्र नजिकै पर्ने भएकोले यसको बृहत्तर विकासमा जोड दिइएको अध्यक्ष राईको भनाइ छ । यो क्षेत्र ओझेलमा परेकोले यसको प्रचार प्रसारसँगै विकासमा ध्यान दिने अध्यक्ष राईले बताउनुभयो । यो क्षेत्रलाई तराईका जिल्लाबाट भोजपुर प्रवेश मार्गका रुपमा विकास गर्ने योजना रहेको उहाँको भनाइ छ ।
“यो स्थान महत्वपूर्ण धार्मिक एंव पर्यटकिय क्षेत्र हो”अध्यक्ष राईले भन्नुभयो,“यो क्षेत्रको छुटै विषेशता र पहिचान छ । गाउँपालिकाको क्षमताले मात्र सवै काम गर्न सम्भव छैन । त्यसको लागि केन्द्र र प्रदेश सरकारसँग पनि समन्वय गरेर आगामी दिनमा थप काम गछौँ ।” हिउँदको समयमा अरुण नदीमा जेटबोट चल्ने भएकोले यहाँसम्म पुग्न सहज भएपनि बर्षातको समयमा भने आवत जावतमा समस्या रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताउनुभयो । यहाँ यातायातको सहज पहुँच भएमा पर्यटकको सङ्ख्या बढ्ने उहाँको भनाइ छ ।“यो क्षेत्रमा यातायातको कारण पुग्नलाई केहि समस्या छ ”प्रशासकीय अधिकृत निरौलाले भन्नुभयो,“यहाँको विकास लागि विभिन्न आर्थिक वर्षमा बजेट विनियोजन केहि काम गरिरहेका छौँ । यसलाई पर्यटनसँग जोडेर स्थापित गन्तव्य बनाउने हाम्रो लक्ष्य छ ।”
यो ठाउँ तराईका ठुला शहरबाट नजिकमा पर्ने भएकोले पर्यटकीय सम्भावाना धेरै रहेको स्थानीयबासी लालबहादुर प्रधानले बताउनुभयो । यो क्षेत्रको विकास गरेर धार्मिकसँगै बन्जिङ लगायतका साहसिक खेलहरु सञ्चालन गर्न सकिने धेरै आधारहरु रहेको उहाँको भनाइ छ । “यो स्थान धेरै सम्भावना बोकेको क्षेत्र हो”उहाँले भन्नुभयो,“यो स्थान धरान, विराटनगर लगायतका ठुला शहरबाट एकदमै नजिक पर्छ । अहिले पनि अरुण नदीबाट जेटबोट चढेर २०/२५ मिनेटमा चतरा पुग्न सकिन्छ । प्रचार गर्न सके यो एउटा पूर्वको प्रमुख गन्तव्यको रुपमा स्थापित हुन सक्छ ।” यो स्थानबाट दूधकोशी पारी उदयपुरको वेलका नगरपालिका ७ र अरुण नदी पारी धनकुटाको सहिदभूमि १ गर्दछ । यो स्थान तीन ओटा जिल्लाको संगम स्थलको रुपमासमेत रहेको छ ।