भोजपुर, १४ पुस । भोजपुरको षडानन्द नगरपालिकाले शैक्षिक सुधारको लागि छुट्टै नीति तयार गरेको छ । नगर क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि नगरपालिकाले आफ्नै नियम तयार गरेको हो । नगरपालिकाले कुनै पनि विद्यालयमा कुनै कारण बस शिक्षक पद रिक्त भएको खण्डमा त्यहाँ पदपूर्तीको लागि लिइने परिक्षामा पारदर्शीता कायम राख्दै क्षमतावान शिक्षकको छनौटका लागि आफ्नै नियम बनाएको हो । जिल्लाका धेरै विद्यालयहरुमा करारमा शिक्षक छनांैट प्रक्रियाको परिक्षा पारदर्शी नभएको, मिलेमतोमा आफ्ना मान्छेलाई जागिर खुवाएको भन्ने स्थानीयबाट आउने गरेको आरोपलाई ध्यानमा राख्दै नगरले आफ्नै नियम तयार गरेको नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए । नगर क्षेत्रका सामुदायिक विद्यालयमा शिक्षकको रिक्त दर्वन्दीमा पदपूर्तीका लागि लिइने परिक्षालाई लक्षित गरेर आफ्नै छुट्टै नियम बनाइएको उनको भनाइ छ ।
नगरले शिक्षकहरुको पदपूर्तीको लागि लिइने परिक्षाको लागि विज्ञहरुबाट गोप्य रुपमा प्रश्नपत्र संग्रह( क्वाइसन बैंक)को समुह निर्माण गरेर मात्र परिक्षा सञ्चालन गरिने प्रमुख उदासले बताए । “जिल्लामा शिक्षक छनौटका लागि लिइने धेरै परिक्षाहरु पारदर्शी भएन भन्ने मैले पनि सुन्ने गरेको छु”प्रमुख उदासले भने,“जनतामा शंका उत्पन्न हुनु भनेको राम्रो पक्ष होइन । यस्ता धेरै परिक्षाहरु विवादमा परेको अवस्था पनि छ । हाम्रो नगरले कुनै पनि विद्यालयमा करारमा शिक्षक छनौटको लागि लिइने परिक्षाको लागि छुट्टै नियम बनाएको छ । सायद यो जिल्लामा पहिलो निर्णय हुन सक्छ ।” शिक्षक छनौटका लागि लिइने परिक्षामा कसैको मिलोमतोमा प्रश्न पत्र बाहिरिन सक्ने सम्भावित खतरालाई ध्यानमा राखेर नगरले नै विज्ञहरुबाट प्रश्न पत्र निर्माण गर्ने उनको भनाइ छ । तयार गरिएका धेरै समुहका प्रश्नपत्रलाई एकै प्रकारको खाममा शिलबन्दी गरेर राखिने र परिक्षा हुनु भन्दा केहि समय अघि मात्र ती समुहबाट विद्यालय व्यवस्थापन समितिले प्रश्न पत्रको छनौट गर्ने व्यवस्था मिलाएको प्रमुख उदासले बताए ।
“शिक्षक छनौटको परिक्षाको लागि विज्ञहरुबाट धेरै समुहका प्रश्न तयार गरेर शिलबन्दी गर्छौँ ” प्रमुख उदासले भने,“एकै प्रकारले खाम बन्दी गरिएका प्रश्न पत्रलाई परिक्षाको केहि मिनेट अघि मात्र विद्यालय व्यवस्थापन समितिलाई छान्न दिन्छौँ । समुहबाट समितिले छनौट गरेको प्रश्नलाई सवैको रोहबरमा खोल्छौँ । सवैको उपस्थितमा परिक्षार्थी हलमा प्रवेश गरेपछि मात्र प्रश्न पत्र वितरण हुन्छ । यसले छनौट प्रक्रिया पारदर्शी हुन्छ ।” सामुदायिक विद्यालयको गुणस्तर सुधारको लागि नगरले प्राथमिकताको साथ काम गरिरहेको प्रमुख उदासको भनाइ छ । नगर क्षेत्रका विद्यालयहरुमा प्रविधिमूलक शिक्षण सिकाईमा जोड दिएको उनको भनाइ छ । शिक्षा राम्रो नभएसम्म कुनै क्षेत्रको विकास सम्भव नभएकाले शिक्षाको गुणस्तरियतामा ध्यान दिएको प्रमुख उदासको भनाइ छ ।
“नगरले तयार गरेको यो नियमले पारदर्शीतासँगै दक्ष, क्षमतावान र विषय विज्ञ शिक्षक छनौटमा मद्धत गर्नेछ” उनले भने,“हामीले हाम्रोलाई भन्दा पनि राम्रोलाई ध्यान दिने हो । हेर्दा सानो कुरा जस्तो लागेपनि यसले धेरै गहनता बोकेको छ । यो नियमले कसैको भनसुन तथा दवाबमा विषय विज्ञता नभएको मान्छेको प्रवेश अन्त्य हुनेछ ।” शिक्षण क्षेत्रमा लामो समय सेवा गरेकाले यहाँका समस्यालाई नजिकबाट नियाल्ने मौका पाएको प्रमुख उदासको भनाइ छ । शिक्षा क्षेत्रको सुधारमा नगरले आवश्यक नियमहरु तयार गरेर योजनाबद्ध रुपमा काम गरिरहेको नगर प्रमुख उदासले जानकारी दिए ।
राहत तथा करारमा पदपूर्तीका लागि नगरले लिने शिक्षक छनौटको परिक्षालाई चुस्त, दुरुस्त, विस्वासनीय बनाउदै दक्ष, क्षमतावान शिक्षक छनौटको लागि यो विधि अपनाइएको नगर उपप्रमुख प्रमिला राईले बताईन ।“शिक्षक छनौट प्रक्रियालई विस्वासनीय तथा पारदर्शी बनाउनको लागि यो विधि अपाउने निर्णय गरेका हौँ” उपप्रमुख राईले भनिन्,“यो प्रक्रियाबाट क्षमता भएका शिक्षकहरुले प्रवेश पाउने भएकोले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमासमेत सुधार आउने हामीले अपेक्षा लिएका छौँ ।”
शिक्षालाई समय सापक्षसँगै गुणस्तरियढंगले अघि बढाउन नगरले आवश्यक पहल गरिरहेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाईले बताए । नगरले भौतिक संरचनाको विकाससँगै प्रविधिमैत्री शिक्षणमा जोड दिएको उनको भनाइ छ । शिक्षकहरुको अवकाश तथा सरुवा लगायतको कारणले पठापाठन प्रभावित हुने अवस्थामा तत्काल करारमा शिक्षक नियुक्ति गर्दा लिइने परिक्षालाई प्रभावकारी बनाउने लक्ष्यले यो कामको थालनी गरिएको प्रशासकीय अधिकृत चापागाईले बताए ।
“शिक्षालाई समय सापक्षसँगै गुणस्तरिय बनाउन नगरले आफ्नो तहबाट काम गरिरहेको छ” प्रशासकीय अधिकृत चापागाईले भने,“शिक्षाको सुधारको लागि एक पक्षले मात्र लागेर सम्भव छैन । त्यसका लागि सवै पक्षले आ–आफ्नो क्षेत्रमा जिम्मेवारपूर्ण भूमिका खेल्न आवश्यक छ ।”