भोजपुर, ८ पुस ।भौगोलिक रुपमा विकट मानिने संखुवासभाको भोटखोलामा पहिलो पटक राज्यमन्त्री पुगेकी छिन् । कोशी राजमार्गको स्थलगत अनुगमन गर्दै भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई भोटखोला पुगेकी हुन् । समाजसेवी स्थानीयबासी मिथुन भोटेको पहलमा राज्यमन्त्रीले सडकको स्थलगत रुपमा नै अनुगमन गरेकी हुन् ।
यो सडक खण्डमा देखिएका समस्याको समाधान तथा भावी योजना निर्माणको लागि स्थलगत अनुगमन गर्न राज्यमन्त्री चपाई भोटखोला पुगेकी हुन् । राज्यमन्त्री चपाईले मध्ये पहाडी लोकमार्ग अन्तर्गत विभिन्न सडक खण्डसँगै दिक्तेल–चखेवा, भोजपुरको चखेवा – लेगुवा र कोशी राजमार्गको खाँदबारी–भोटखोला गरेकी छिन् ।
अनुगमन पश्चात यहाँको अवस्था र गर्नु पर्ने कामको विषयमा प्रतिवेदन तयार गरेर मन्त्रालयमा बुझाउने लक्ष्य रहेको उनको भनाइ छ । स्थलगत रुपमा राज्यमन्त्रीबाट यहाँका सडकहरुको अनुगमनले उत्साह थपिएको समाजसेवी मिथुन भोटेले बताए । सडकको कारण स्थानीयले विभिन्न समस्या भोगिरहेको अवस्थामा मन्त्रीको तर्फबाट भएको अनुगमनले समस्या समाधान हुनेमा आशा बढेको उनको भनाइ छ ।
“मेरो पहलमा राज्यमन्त्रीलाई यहाँको सडकको अवस्थाको बारेमा स्थलगत अनुगमन गराएका हौँ” उनले भने,“ यो हाम्रो क्षेत्रको सडक स्थलमार्गबाट पहिलो पटक मन्त्री आएर अनुगमन भएको छ । अवका दिनमा यहाँका समस्या समाधानमा पहल हुन्छ भन्ने आशा जागेको छ ।”