राज्यमन्त्री चपाईद्धारा मध्ये पहाडी राजमार्गको स्थलगत अनुगमन


भोजपुर, ७ पुस । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईले मध्ये पहाडी लोकमार्ग र कोशी राजमार्गको स्थलगत अनुगमन गर्नु भएको छ । मध्ये पहाडी सडक खण्डमा देखिएका समस्याको समाधान तथा भावी योजना निर्माणको लागि स्थलगत अनुगमन गरेकी छिन् । राज्यमन्त्री चपाईले मध्ये पहाडी लोकमार्ग अन्तर्गत विभिन्न सडक खण्डसँगै दिक्तेल–चखेवा, भोजपुरको चखेवा – लेगुवा र कोशी राजमार्गको खाँदबारी–भोटखोला किमाथाङ्का सडक खण्डको अवलोकन गर्ने जनाइएको छ ।

पत्रकारसँगै कुरा गर्दै राज्यमन्त्री चपाईले यो क्षेत्रका सडकसँगै मन्त्रालय अन्तर्गत निर्माण भईरहेका अन्य संरचनाहरुको अनुगमन गरिएको बताईन । अनुगमन पश्चात यहाँको अवस्था र गर्नु पर्ने कामको विषयमा प्रतिवेदन तयार गरेर मन्त्रालयमा बुझाउने लक्ष्य रहेको उनको भनाइ छ । “मन्त्रालयको निर्णय अनुसार म यो क्षेत्रको स्थलगत अनुगमनमा निस्केकी हुँ” राज्यमन्त्री चपाईले भनिन्,“अनुगमनका क्रममा यहाँका धेरै समस्याको पहिचान गरेका छौँ । यहाँ धेरै समस्याहरु पनि देखिएका छन् । कामलाई गुणस्तरिय र प्रभावकारीढंगले अघि बढाउन मन्त्रालयमा प्रतिवेदन बुझाउने मेरो लक्ष्य छ ।यहाँ देखिएका समस्याहरुको समाधानको लागि मेरो तर्फबाट पहल कदमी हुनेछ ।”

मध्ये पहाडी लोकमार्ग र कोशी राजमार्गमा देखिएका समस्याहरुको पहिचान र भईरहेका कामको बारेमा मन्त्रालयलाई जानकारी दिने उद्धेश्यले स्थगत अनुगमन गरिएकको सडक डिभिजन कार्यालय संखुवासभा तुम्लिङटारका प्रमुख शुभाञ्जन दाहालले बताए । मन्त्रालयबाट स्थलगत रुपमा अनुगमनले कार्यालय मातहात सञ्चालन हुने कामलाई अघि बढाउन थप सहज हुने प्रमुख दाहालको भनाइ छ ।

“हामीले खास गरेर भोजपुुर र संखुवासभाको राष्ट्रिय राजमार्गमा काम गर्दै आएका छौँ” प्रमुख दाहालले भने,“यहाँ काम गर्ने क्रममा धेरै समस्या रहेका छन् ।राज्यमन्त्रीको उपस्थितिमा अनुगमन गरेका छौँ । यसले हामीलाई काम गर्न थप सहजता हुनेछ । अनुगमनका क्रममा यी सडकका मुख्य समस्याको विषयमा हामीले जानकारी दिएका छौँ ।”

स्थलगत रुपमा राज्यमन्त्रीबाट यहाँका सडकहरुको अनुगमनले उत्साह थपिएको समाजसेवी मिथुन भोटेले बताए । सडकको कारण स्थानीयले विभिन्न समस्या भोगिरहेको अवस्थामा राज्यको तर्फबाट भएको अनुगमनले समस्या समाधान हुनेमा आशावादी रहेको उनको भनाइ छ ।

“सडकको कारण स्थानीयले समस्या भोगेको अवस्था छ” उनले भने ,“मन्त्री ज्युको उपस्थितिमा मुख्य राष्ट्रिय राजमार्गको स्थलगत अनुगमनले हामीमा उत्साह थपिएको छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार