पौवादुङमामा पूर्व प्रधानमन्त्री ओलीको भब्य स्वागतसँगै माग पत्र हस्तान्तरण


भोजपुर, २८ मंसिर । भोजपुरको पौवादुङमा गाउँपालिकाले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत तथा गाउँपालिका समस्याको विषयमा सर्वपक्ष माग पत्र हस्तान्तरण गरेको छ । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा–२०८० को क्रममा पौवादुङमा आइपुगेका आलीलाई गाउँपालिकाले भब्य स्वागत गरेको हो । गाउँपालिकाको तर्फबाट तिवारीभञ्याङ अधेँरीघाट सडक र अधेँरीघाटमा पक्की पुल निर्माणको लागि माग पत्र हस्तान्तरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिए । पूर्व प्रधानमन्त्री ओलीलाई यो सडक विषयमा विस्तृत रुपमा जानकारी दिइएको उनको भनाइ छ ।

“गाउँपालिकाको तर्फबाट दुई ओटा योजनाको विषयमा माग पत्र दिएका छौँ”प्रशासकीय अधिकृत भट्टराईले भने,“हामीले यो सडक र पुल निर्माण पस्चात पुग्ने लाभको विषयमा विस्तृत रुपमा पूर्व प्रधानमन्त्रीलाई जानकारीसमेत गराएका छौँ ।” दलहरुको तर्फबाट यहाँको विकासको लागि एमालेका गाउँ कमिटी अध्यक्ष ज्ञानेन्द्र राई र नेपाली काङ्ग्रेसका चोलप्रसाद आलेले पूर्वप्रधानमन्त्री ओलीलाई ध्यानकर्षण पत्र बुझाएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष किरण राईले गाउँपालिकाको विकासको अवस्था र यहाँको समस्या विषयमा पूर्वप्रधानमन्त्री ओललिाई जानकारी दिएका छन् । अध्यक्ष राईले तिवारीभञ्याङ अधेँरीघाट सडकसँगै अरुण नदीको अधेँरीघाटमा पुल निर्माणले पौवादुङमाबासीसँगै सम्रग जिल्लाबासीलाई तराईका जिल्लासँग जोडिन छोटो दुरी हुने बताए ।

“तिवारीभञ्याङ–अधेँरीघाट सडक र अरुण नदीको अधेँरीघाट पक्की निर्माण हुन आवश्यक छ” अध्यक्ष राईले भने,“यो सडक निर्माणले यहाँका नागरिकहरुलाई तराईका जिल्लासँग जोडिन छोटो दुरी हुने भएकाले माग पत्र हस्तान्तरण गरेका छौँ ।यो सडक र पुल निर्माणको लागि पूर्वप्रधानमन्त्रीको तर्फबाट पहल हुन्छ भन्ने गाउँपालिकाले अपेक्षा लिएको छ ।”

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली जनताको समस्या पहिचानसँगै उनीहरुको सुझाव संकलनको लागि झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा–२०८० शुरु गरिएको बताए । जनताको तर्फबाट आएका सुझावहरुलाई ध्यानमा राख्दै आवश्यक योजना बनाएर विकासको लहरलाई अघि बढाउने उनको भनाइ छ ।

“संकल्प यात्राको क्रममा हामी पौवादुङमा आईपुगेका छौँ” अध्यक्ष ओली भने,“खास गरेर मध्यपहाडी क्षेत्रको समस्याको पहिचान गरेर यसलाई समृद्धिको बाटोमा लैजान यो यात्रा तय गरिएको हो । जनताको तर्फबाट आएका विभिन्न सुझाव तथा माग पत्रलाई ध्यानमा राख्दै यहाँको समग्र क्षेत्रको विकास लागि एमालेले योजना निर्माण गर्नेछ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार