भोजपुर, २६ मंसिर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतको लागि भोजपुरमा सम्पूर्ण तयारी पुरा भएको छ । बुधबार र विहिबार हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको राष्ट्रिय युवा संघ नेपाल भोजपुरले जनाएको छ । अध्यक्षको स्वागतका लागि जिल्लाको विभिन्न ठाउँमा स्वागतद्धार निर्माण गरिएको राष्ट्रिय युवा संघ नेपाल भोजपुरका अध्यक्ष रविन थापाले बताए । मंगलबार देउरालीबाट जिरोपोइन्ट हुँदै चार भञ्ज्याङमा पुगेर कोण सभा गरिएको अध्यक्ष थापाले जानकारी दिए ।
‘भोजपुरमा हुने कार्यक्रमको लागि युवा संघको तर्फबाट सम्पूर्ण तयारी पुरा भएको छ’अध्यक्ष थापाले भने,‘कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गराउनको लागि हामी लागि परेका छौँ ।’ कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य तथा भोजपुर जिल्ला इन्चार्ज ज्ञानेन्द्र राईले एमालेको राष्ट्र निर्माणको अभियानको रुपमा पार्टीका अध्यक्षको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धीका लागि संकल्प यात्रा –२०८० रहेकोले सवै जिल्लाबासीलाई कार्यक्रममा उपस्थितिका लागि आह्वान गरेका छन् ।
यो कार्यक्रम एमालेको मात्र नभएर भोजपुरबासीको हितको लागि रहेको उनको भनाइ छ । ‘एमालेको यो ऐतिहासिक कार्यक्रम हो’इन्जार्च राईले भने,‘यो कार्यक्रम एमालेको मात्र नभएर सम्पूर्ण जिल्लाबासीको हितमा छ । युवा संघको तर्फबाट सम्पूर्ण महानुभावहरुलाई उपस्थितिको लागि अनुरोध गर्दछु ।’
इन्चार्ज राईले एमालेले सुखी नेपाली र समृद्ध नेपालको नारालाई अघि सारेर जनताको हितमा विभिन्न जनमुखी कार्यक्रमको थालनी गरेका बताउदै, यो अभियानलाई जनताले साथ दिनु पर्ने धाराणा राखे । भोली युवा संघले अध्यक्ष ओलीलाई चखेवामा भव्य स्वागत गर्ने जनाइएको छ ।