त्रिपुरेश्वर महादेवको विकासका लागि शिव महापुराणको आयोजना


भोजपुर, १४ मङ्सिर । भोजपुरको पौवादुङमा गाउँपालिका १ श्यामशिलामा रहेको प्रसिद्ध धार्मिक स्थल त्रिपुरेश्वर महादेवको प्रचार÷प्रसार गर्न शिव महापुराण आयोजना गरिएको छ । पूर्वको प्रसिद्ध त्रिपुरेश्वर महादेव तथा यहाँको झाराली गुफाको संरक्षण सहयोगार्थ ११ दिने महापुराणको आयोजना गरिएको हो । यहि मङ्सिर १५ गतेबाट २५ गतेसम्म सञ्चालन हुने महापुराणले धार्मिक तथा साँस्कृतिक एकता कायम गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ ।  पूर्वको पशुपति भनेर चिनिएको खोटाङ हलेसीको दोश्रो रुपको पहिचान बनाएको पौवादुङमा १ तिलाहरमा रहेको त्रिपुरेश्वर महादेवको विकासँगै प्रचारप्रसारको लागि महापुराणको आयोजना गरिएको मन्दिर संरक्षण समितिले जनाएको छ ।

धार्मिक पर्यटन विकास गर्दै यो स्थलको विकास तथा संरक्षणको लागि भागवद शिवमहापुराणले सहयोग पुग्ने मन्दिर संरक्षण समितिको भनाइ छ। विगतबाट चन्दा संकलनसँगै वडा कार्यालय तथा गाउँपालिकाबाट बजेट माग गरेर संरक्षणको काम भइरहेको संरक्षण समितिका अध्यक्ष सीताराम श्रेष्ठले बताए। “यो स्थानको संरक्षण तथा विकासको लागि महापुराणको आयोजना गरेका हौँ”अध्यक्ष श्रेष्ठले भने,“यो देव स्थल प्रचार अभावको ओझेलमा परेको अवस्था छ । हामीले यहाँ मन्दिर निर्माणसँगै आवश्यक काम गरेका छौँ । महापुराणले यहाँको विकासमा थप टेवा पुग्नेछ ।” यहाँ विभिन्न जातजातिको झाँकी प्रर्दशनसँगै कलाकारबाट भोजन गायन तथा साँस्कृति कार्यक्रमसमेत हुने जनाइएको छ । ४२ वर्षअघि अर्थात २०२८ सालमा उत्पति भएको यो देवस्थल अहिले संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । हसेलीको जस्तै गुफा भित्रका शिव, पार्वती, राम, सीता, हनुमान, गौरी गणेश लगायत देवताको मुर्तीसँगै आश्चर्यजनक झाराली गुफासमेत रहेको छ ।

करीब दुई रोपनी क्षेत्रमा रहेको यो देवस्थलको संरक्षणमा अहिले स्थानीय जनता जागरुक भएर महापुराणको आयोजना गरेका हुन् । हलेसीमा झै गाईका थुन जस्तै देखिने ढुङ्गाका आकृति, नागका चित्र, हात्तीको चित्र, ढुङ्गामा उत्पति भएका दियोसँगै गुफाभित्र पोखरीसमेत रहेको ९३ वर्षीय स्थानीयबासी गंगा बहादुर श्रेष्ठले बताए । यहाँ दर्शन गरे सन्तान नहुनेको सन्तान प्राप्ति हुने, सोचे चिताएको पुग्ने धार्मिक विस्वास रहेको श्रेष्ठले जानकारी दिए । कुनै बालबालिकाको बोली नआएमा यहाँ ल्याएर दर्शन गराए वाक्य आउनेसमेत उनले बताए । “यहाँ आएर दर्शन गरे धेरै कुरा पुरा हुने धार्मिक विस्वास छ”उनले भने,“ चार दशक अघिसम्म यहाँ दर्शन गर्नेको निकै भिड लाग्थ्यो । तर अहिले यसको महत्व नै हराउँदै गएको छ ।”

यहाँ बर्षमा तीन पटक राम नवमी, बालाचतुर्दशी र शिवरात्रीमा सात दिनसम्म भव्य मेला लाग्ने गरेको छ । २०३६ सालसम्म यहाँ नेपालका विभिन्न ठाउँसँगै भारत तथा अन्य मूलुकहरुबाटसमेत धार्मिक पर्यटक आउने गरेको पुजारी रित बहादुर श्रेष्ठले बताए । यहाँको झाराली गुफाभित्र प्राकृतिक रुपमा बनेका दियो, नागको चित्र,गाईको थुनबाट दूध आउने स्थान, पोखरीसँगै ५० जनासम्म बस्न मिल्ने ठाउँ रहेको उहाँको भनाइ छ । हलेसीको जस्तै पापद्धार र धर्मद्धार पनि रहेको उनले बताए । “यहाँ हलेसीको जस्तो देवी देवताका मूर्ती छन्”श्रेष्ठले भने,“कतिपय ठाउँमा गुफा २०७२ को भूकम्पका कारण थुनिएको छ । भित्र पोखरी छ । तर संरक्षण र प्रचारको अभाव यो स्थान पछिल्लो समय ओझेलमा पर्यो ।”

स्थानीय युवाहरु योगेश श्रेष्ठ र प्रमेश तामाङले आफ्नो व्यक्तिगत पैसामा शिवको मूर्ती र दश फुटको त्रिशुल स्थापना गरिएको छ । त्यस्तै चन्दा संकलन गरेर उनीहरुको पहलमा ८० हजार लागतमा घण्टी र रु। २४ हजार लागतमा चन्दा बाकस राखिएको छ । चन्दा संकलनबाट नै मन्दिरसम्म पुग्नको लागि बाटो निर्माण गरिएको संरक्षणको अगुवाई गरि रहनु भएका युवा योगेस श्रेष्ठले जानकारी दिए । यहाँको विकासको लागि पौवादुङमा गाउँपालिका तथा वडाले पनि आवश्यक सहयोग गरिरहेको उनको भनाइ छ । “मन्दिरको लागि हामी युवाहरु जुटिरहेका छौँ”उनले भने,“यसैको निरन्तरता स्वरुप महापुराणको आयोजना गरेका हौँ । महापुराणले यहाँको प्रचारप्रसारसँगै विकासमा टेवा पुग्छ भन्ने हाम्रो लक्ष्य छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार