भोजपुर, ३१ साउन । भोजपुर सम्बन्ध विच्छेदका मुद्दामा बृद्धि भएको पाइएको छ । जिल्ला अदालत भोजपुरका अनुसार यहाँ गत आर्थिक वर्षमा सवै भन्दा बढी दुई सय ३६ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दा मध्ये एक सय ८३ ओटा मुद्दा फैसला भएका छन् भने ५३ वटा मुद्दा फैसला हुन बाँकी रहेको जिल्ला अदालत भोजपुरले पत्रकारसम्मेलनमार्फत जानकारी दिएको छ ।
दर्ता भएका धेरै जसो सम्बन्ध विच्छेदका मुद्दाको मुख्य कारण वैदेशिक रोजगारी रहेको जिल्ला न्यायधिस मनिराम न्यौपानेले जानकारी दिए । सम्बन्ध विच्छेदका ७५ प्रतिशत बढी मुद्दा वैदेशिक रोजगारीका कारण सृजना भएको पाईएको उनको भनाइ छ । त्यस्तै सामाजिक सञ्जालको बढ्दो प्रयोगले पनि यस्ता मुद्दा बृद्धि भएको देखिएको उनको भनाइ छ । परिपक्क नभई प्रेम विवाह गर्ने र विभिन्न घरायसी समस्याले विवाद उत्पन्न हुने कारणले पनि सम्बन्ध विच्छेद गर्न आउने गरेको न्यायधिस न्यौपानेले जानकारी दिए ।
‘‘भोजपुरमा सम्बन्ध विच्छेदका घटना बृद्धि भएको अवस्था छ’’न्यायधिस न्यौपानले भने,‘‘ यहाँ आउने ७५ प्रतिशत बढी सम्बन्ध विच्छेदका घटना बैदेशिक रोजगारीका कारण उत्पन्न भएको पाइएको छ । त्यसको अलवा घरयासी विवाद तथा बढ्दो सामाजिक सञ्जालको प्रयोग पनि यसका अन्य कारण हुन् ।’’
श्रीमान विदेश जाने श्रीमती आफूले केहि सीप सिक्ने तथा छोराछोरी पढाउने बहानामा शहरमा पस्ने प्रवृत्तिले पनि सम्बन्ध विच्छेदका घटना बढ्ने गरेको पाइएको जनाइएको छ । विभिन्न शिर्षकमा गत आर्थिक वर्षमा परेका पाँच सय ९९ मुद्दामा तीन सय ७८ ओटा मुद्दा फैसाला भएका छन् भने दुई सय २१ ओटा मुद्दा फैसला हुन बाँकी रहेको जिल्ला अदालत भोजपुरका श्रेस्तेदार मोहन घिमिरेले जानकारी दिए । सम्बन्ध विच्छेदपछि जवर्जस्ती करणीका मुद्दामा पनि बृद्धि भएको अदालतले जनाएको छ । गत आ.व. मा करणी सम्वन्धी कसूरमा ५३ वटा मुद्दा दर्ता भएका छन् ।