युवा संघको अगुवाईमा श्रमदानमार्फत मर्मत गरियो भोजपुर बजारको सडक


भोजपुर, २५ साउन । भोजपुर बजार क्षेत्रको सडक भत्किएर दुर्घटनाको जोखिम बढेपछि श्रमदानमार्फत मर्मत गरिएको छ । दैनिक जसो सयौँको सङ्ख्यामा सवारी साधन आवतजावत हुने सडकमा जोखिम बढेपछि राष्ट्रिय युवा संघ र स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो ।  युवाहरुको अगुवाईमा गरिएको श्रमदान अभियानमार्फत विगतमा ढलान गरिएको ठाउँ भत्किएपछि सिमेन्ट,गिठी बालुवा प्रयोग गरेर मर्मत गरिएको हो । बजार क्षेत्रमा ढल व्यवस्थापनको काम भईरहेको भएपनि हालबाटो विग्रिएको ठाउँसम्म सडक बन्न समय लाग्ने भएकोले बजारबासीलाई सहज आवगमनको लागि बाटो मर्मत गरिएको भोजपुर नगरपालिका उप–प्रमुख निर्मला शेर्पाले बताईन । सडकको कारण आवतजावतमा समस्या भएपछि आफुले ब्याक्तिगत रुपमा सडक मर्मतको लागि सहयोग गरेको उनको भनाइ छ ।

‘‘बजार क्षेत्रको सडक विग्रदा समस्या छ’’ उप–प्रमुख शेर्पाले भनिन् ‘‘ यहाँको ढल व्यवस्थापनको काम भईरहेको छ । त्यसलाई पर्खेर बस्दा समय लाग्ने भएकाले सडक मर्मत गरेका छौँ । सडक मर्मतको लागि आवश्यक पर्ने सामग्री मैले ब्यक्तिगत रुपमा सहयोग गरेकी छु ।’’ दैनिक जसो स्थानीयले भोगेको सास्तीलाई नगरपालिकाले देखेर पनि बेवास्ता गरेपछि भत्किएको ठाउँमा ढलान गरिएको राष्ट्रिय युवा संघ भोजपुर नगर कमिटी अध्यक्ष दिपेन दर्लानले जानकारी दिए ।  ‘‘विगतमा गरिएको ढलान भत्किदा दुर्घटनाको जोखिम बढेको अवस्था थियो’’ अध्यक्ष दर्नालले भने,‘‘ पटक पटक भन्दा पनि सडक मर्मतमा नगरले बेवास्ता गरेपछि हामीले खाल्डाखुल्डी पुरेका हौँ । यसले दुर्घटनाको जोखिम न्यूनिकरणमा टेवा पुग्छ भन्ने हाम्रो लक्ष्य हो । यो अभियान जारी राख्ने हाम्रो योजना छ ।’’

श्रमदान अभियानमार्फत जिल्लामा फैलिरहेको डेङ्गी तथा आँखा पाक्ने रोगबाट बच्नको लागि अनपाउनु गर्ने शन्देशमूलक सूचनाको बोर्डसमेत बजार क्षेत्रमा राखिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य विमल रणपहेंलीले जानकारी दिए । त्यस्तै बजार क्षेत्र आसपासको सरसफाई गरिएको उनको भनाइ छ । ‘‘युवाहरुले देशको लागि केहि नमूनायोग्य काम गर्नु पर्छ भन्ने लक्ष्यले यो कामको थालनी गरेका हौँ’ उनले भने,‘‘ महामारीको रुपमा डेंगी र आँखा पाक्ने रोग फैलिएको अवस्था छ । यी रोगबाट बच्न हामीले बजार क्षेत्रमा सन्देशमूलक सामग्री पनि राखेका छौँ । ’’

मुख्य बजारमा सडक बिग्रेको कारण दुर्घटनाको जोखिम बढेकोले युवाहरुको अगुवाइमा सडक मर्मत गरिएको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष शरणकुमार राईले बताए । देश निर्माणको लागि युवाहरुले खेल्ने भूमिकाले समाजमा सकारात्मक सोचको विकास गर्ने उनको भनाइ छ । ‘‘सडक विग्रदा दुर्घटनाको जोखिम बढेको अवस्था थियो’’अध्यक्ष राईले भने,‘यसरी सडक विग्रेर स्थानीयले सास्ती भोग्दा पनि सरोकारवाला पक्षको ध्यान नपुगेपछि बाटो मर्मतसँगै सरसफाइको काम गरेको हौँ । युवाहरुले सञ्चालन गरेको यो अभियान राम्रो छ । यस्ता कुरामा हामीले पनि सहयोग गर्न आवश्यक छ ।’’ श्रमदान अभियानमार्फत डाँडा गाउँ क्षेत्रको सडक मर्मत गरिएको हो । केहि समय अघि भोजपुरको टक्सारमा एक युवा पाँच विरुवा अभियान अन्तर्गत बृक्षारोपनको काम गरेको संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार