हतुवागढीमा रु.दुई करोड लगानीमा दिमालुङ स्मारक पार्क निर्माण


भोजपुर, ११ साउन । पर्यटन प्रर्वद्धन गर्ने लक्ष्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दुई करोड लगानीमा दिमालुङ स्मारक पार्क निर्माण गरिएको छ । किरात सस्कृतिको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गाउँपालिकाको योजना र प्रदेश सरकारको लगानीमा यहाँ स्मारक पार्क निर्माण गरिएको हो । किरात राईहरुको आस्थाको केन्द्रको रुपमा रहेको वडा नं. २ र ३ मा पर्ने यो स्थानमा कोशी प्रदेश सरकारको पर्यटन मन्त्रालय, भवन तथा शहरी विकास कार्यालय धनकुटाको रु.दुई करोड आठ लाख र गाउँपालिकाको रु पाँच लाख गरी रु. दुई करोड १३ लाख लगानीमा पार्क निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । आर्थिक वर्ष २०७४÷७५ बाट निर्माण शुरु गरिएको पार्कलाई पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्ने लक्ष्य रहेको अध्यक्ष राईको भनाइ छ । विगतका तीन आर्थिक वर्षमा गरी रु. दुई करोड १३ लाख वराबर लगानी भइसकेको उनले जानकारी दिए ।

‘गाउँपालिकाको योजना र प्रदेश सरकारको लगानीमा यहाँ पार्क निर्माण गर्न सफल भएका छौँ’’अध्यक्ष राईले भने ,‘ किरात संस्कृतिको संरक्षणसँगै यसलाई पर्यटनसँग जोडेका छौँ । यसले संस्कृतिको संरक्षणसँगै यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने हाम्रो उद्धेश्य हो ।’ यो ठाउँ गाउँपालिकाले निर्माण गरिरहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्गको अन्तिम विन्दुको रुपमा रहेको छ । यो स्थानमा पर्यटकलाई लक्षित गरेर किरात सस्कृतिसँग जोडिएका विभिन्न संरचनाहरु निर्माण गरिएको अध्यक्ष राईको भनाइ छ । यहाँ रहेको किरात ईतिहास बोकेको विषेश खालको दिमालुङ ढुङगाको संरक्षण गर्दै पार्क निर्माण गरिएको अध्यक्ष राईले बताए ।

‘यहाँ एउटा किरात इतिहास बोकेको ठुलो दिमालुङ ढुङ्गा छ’ उनले भने,‘राई भाषामा ‘दिमा’ भनेको बोजु र ‘लुङ’ भनेको ढुङ्गा हुने भएकोले पार्कको नाम दिमालुङ रहेको हो ।यो ठाउँले निकै ठुलो ऐतिहासिक महत्व बोकेको छ । यसलाई पर्यटनसँग जोडेर विकासमा जुटेका हौँ ।’ पर्यटनलाई लक्षित गरेर गाउँपालिकाका ऐतिहासिक क्षेत्रको योजनाबद्ध विकासमा जुटेको अध्यक्ष राईले जानकारी दिए । किरात समुदायले वर्षमा दुई पटक यो क्षेत्रमा साकेन्वा नाच्ने र पुज्ने गरेका छन् । यसले यहाको संस्कृतिको संरक्षणसँगै पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने अध्यक्ष राईको भनाइ छ ।‘हतुवागढी आफैँमा एक इतिहास बोकेको गाउँपालिका हो’ अध्यक्ष राईले भने,‘यहाँ धेरै पर्यटकीय सम्भावना बोकेका ऐतिहासिक क्षेत्रहरु छन् । हामीले यस्ता क्षेत्रलाई पर्यटनसँग जोडेर विकास तथा विस्तार गरिरहेका छौँ ।’

यो आर्थिक वर्षमा पनि यसको थप विकास तथा विस्तारको लागि काम गर्ने गाउँपालिकाले जनाएको छ । दिमालुङ पार्कको आवश्यक व्यवस्थापनको लागि प्रदेश सरकारको रु.२५ लाख र गाउँपालिकाको रु.सात लाख लागतमा काम गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए । ‘पर्यटनसँग जोडेर गाउँपालिकालाई आर्थिक रुपमा मजबुत बनाउने सोचका साथ काम गरिरहेका छौँ’ प्रशासकीय अधिकृत निरौलाले भने,‘विगतका आर्थिक वर्षबाट नै यहाँको विकास गरिरहेका छौँ । यो आर्थिक वर्षमा पनि यसको थप विकासको लागि रुं ३२ लाख बराबरको काम गर्ने योजना छ ।’

गाउँपालिकाले पर्यटनसँग जोडेर ऐतिहासिक क्षेत्रको योजनाबद्ध विकासमा खेलेको भूमिका प्रशंसायोग्य रहेको स्थानीयबासी प्रकाश बस्नेतले बताए । यस्ता ठाउँको प्रचार/ प्रसार गरेर गाउँपालिकाको राम्रो आर्थिक श्रोत रुपमा जोड्न सकिने उनको भनाइ छ । ‘गाउँपालिकाले पर्यटकीयसँगै ऐतिहासिक क्षेत्रको विकास गरिरहेको काम राम्रो छ’’उनले भने ,‘यसलाई पर्यटनसँग जोड्न गाउँपालिकाले भूमिका खेल्ने हो भने आर्थिक रुपमा पनि टेवा पुग्ने देखिन्छ । यस्ता स्थलको विकाससँगै प्रचार÷प्रसारमा पनि ध्यान दिन आवश्यक छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार