भोजपुर, २७ असार । भोजपुरको पौवादुङमा गाउँपालिकाको आर्थिक बर्ष २०७९ /०८० को तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बुधबार गाउँपालिका केन्द्र च्याङ्ग्रेमा कार्यक्रम सम्पन्न भएको हो । हालसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले गाउँपालिकाले यो अवधिसम्म गरेका काम, सञ्चालित योजना, नीतिगत निर्णय तथा हालसम्मको प्रगतिको विषयमा प्रतिवेदन पेश गरे ।
गाउँपालिकाले यो अवधिसम्म चालु तर्फ ८६ दशमलव ४५ प्रतिशत र पुँजीगत तर्फ ८५ दशमलव ५४ प्रतिशत बजेट खर्च गरेको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए । स्थानीय नागरिकले उठाएका सवालको जबाफ दिँदै गाउँपालिका अध्यक्ष किरण राईले स्थानीय नागरिकबाट आएका सल्लाह सुझावले गाउँपालिकाको आगामी दिनका योजनालाई थप प्रभावकारी बनाउन टेवा पुग्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले सार्वजनिक सुनुवाईले गाउँपालिकाको सेवा प्रबाहको बारेमा जनतालई सुसुचित हुन सहयोग पुग्ने बताइन् । स्थानीय नागरिकको सल्लाह सुझाब तथा प्रतिकृयाले समृद्ध गाउँपालिका निर्माणमा सहयोग पुग्ने उनको भनाइ छ ।