भोजपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा


भोजपुर, २५ असार । भोजपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ । यहाँका नौ ओटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि सोमबार औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। राष्ट्रिय खोप तालिका अनुसार जन्मदेखी १५ महिना सम्म र १६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाले खोप पाएको निश्चित भएसँगै जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको हो ।

नेपाल सरकारबाट निःशुल्क दिइने सबै प्रकारका (१३ किसिमका) खोप लगाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सुमन तिवारीले जानकारी दिए ।‘‘निर्धारित उमेर समुहका बालबालिकाले सम्पूर्ण खोप लगाएसँगै भोजपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको छौँ’उनले भने,‘‘यो अभियान जारी रहन्छ । सवै स्थानीय तहलाई यस अघि नै घोषणा गरेर आज जिल्ला घोषणा गर्न सफल भएका हौँ।
यो घोषणासँगै भोजपुर कोशी प्रदेशमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने चौथो जिल्ला बनेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बालबालिकालाई नेपाल सरकारले उपलब्ध गराउने सबै प्रकारका खोपको मात्रा पूरा गराउन सबैले भूमिका खेल्नु पर्ने कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
सरोकारवालाहरुको उपस्थितीमा जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन । सो अवसरमा जिल्लाका नौवटै स्थानीय तहलाई सम्मानसमेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार