भोजपुर, १७ असार । विद्यार्थीहरुलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्धेश्यले पौवादुङमा गाउँपालिकाका उत्कृष्ट विद्यार्थीलाई पुरस्कारसहित सम्मान गरिएको छ । एसईइमा जिल्लाबाट उत्कृष्ट अंक ल्याउने एकसहित नौ जना विद्यार्थीलाई छात्रबृति वितरण गरिएको हो । बार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई ‘गाउँपालिका अध्यक्ष छात्रबृति’ कार्यक्रम अन्तर्गत रु. एक लाख ५० हजार छात्रबृति वितरण गरिएको हो । गाउँपालिका भित्रका आठ वटा बिद्यालयमा कक्षा ५, ८ र १० मा अध्ययनरत विद्यार्थीलाई पुरस्कृत गरिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिईन ।
तिवारीभञ्याङ माध्यमिक विद्यालयका शिशिर तिवारीले एसईई परिक्षामा तीन दशमलव ६५ जिपीए ल्याएर जिल्ला प्रथम बनेका हुन । तिवारीलाई जिल्ला उत्कृष्ट भएकोमा रु. ५० हजार र ‘गाउँपालिका अध्यक्ष छात्रबृति’ अन्तर्गत रु. १८ हजार गरी करसहित रु. ६८ हजार छात्रबृति वितरण गरिएको हो । एसईईमा तीन दशमलव ६० जीपिए ल्याएर दोश्रो हुने पञ्चकन्या माध्यमिक विद्यालयका कुवेर खत्री र तीन दशमलव ४१ जीपिए ल्याएर तेस्रो बन्ने सानोदुम्मा माध्यमिक विद्यालयका हरी खड्कालाई पनि छात्रबृतिसहित सम्मानपत्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्ट्राईले जानकारी दिए । उत्कृष्टले क्रमशः करसहित रु. १४ हजार र ११ हजार पाएको उनको भनाइ छ ।
कक्षा ८ मा उत्कृष्ट अंक ल्याएर प्रथम हुने मानेडाँडा माध्यमिक विद्यालयकी रष्मी भट्टराई, दोश्रो हुने तृप्ती राई र तेस्रो हुने तिवारीभञ्ज्याङ माविकी स्मृति खड्कालाई छात्रबृति वितरण गरिएको हो । उनीहरुले सम्मान पत्रका साथमा क्रमशः करसहित रु.१४ हजार, ११ हजार र आठ हजार पाएका छन् । त्यस्तै कक्षा ५ मा गाउँपालिका भरिमा उत्कृष्ट अंक ल्याएर प्रथम हुने बालकल्याण आधारभूत विद्यालयका समिर खाती, दोश्रो हुने शिंहदेवी प्राथमिक विद्यालयका ग्रिस तामाङ र तेस्रो हुने मानेडाँडा माध्यमिक विद्यालयकी अनिमा राईले छात्रबृति पाएका हुन् । सम्मान पत्रका साथमा क्रमशः करसहित रु.११ हजार, आठ हजार र पाँच हजार वितरण गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख सुनिता कटुवालले जानकारी दिईन।
आर्थिक अवस्था कमजोर भएका गरिव तथा जेहेन्दर विद्यार्थीलाई गाउँपालिकाबाट नीति निर्माण गरेर छात्रबृति वितरण गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । बिद्यार्थीहरुलाई प्रोत्साहत गर्दै नियमित बिद्यालय आउने वातावरण निर्माणका लागि गाउँपालिकाले छात्रबृति वितरण गर्दै आएको उनको भनाइ छ ।
‘‘गाउँपालिकाले यहाँका बिद्यालयहरुलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ’’ अध्यक्ष राईले भने, ‘‘यसले विद्यार्थीहरुको शैक्षिक विकासमा टेवा पुगेको छ । राम्रो अंक ल्याएर एमविएस पढ्न चाहने विद्याथीलाई गाउँपालिकाले आर्थिक सहयोग गर्ने नीति तयार गरेको छ ।’’यसै कार्यक्रमका बीच गाउँपालिकाको स्थानीय पाठ्क्रम निर्माणमा सहयोग गर्नेलाई सम्मान गरिएको छ ।