भोजपुर, १२ असार । पौवादुङमा गाउँपालिकाले पहिलो पटक ‘नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम’ लागु गरेको छ । आ.व २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम मार्फत बालबालिकाको भविष्य सुनिश्चितताको लागि यो कार्यक्रम लागु गर्न लागेको हो । यो कार्यक्रम अन्तर्गत यहाँ भित्र जन्म र रेफर भएका बालबालिकाको भविष्य सुरक्षाको लागि प्रत्येक महिना पाँच सयका दरले पाँच वर्षसम्म गाउँपालिकाले भत्ता वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिए । बालबालिकाको पालनपोषण तथा भविष्य सुरक्षाको लागि यो कार्यक्रमको थालनी गरिएको भट्टराईको भनाइ छ ।
‘‘बालबालिकाको भविष्य सुरक्षाको लागि यो कार्यक्रम सञ्चालनमा ल्याएका छौँ’’ प्रशासकीय अधिकृत भट्टराईले भने,‘‘पाँच वर्षसम्म बैकिङ प्रणाली मार्फत प्रोत्साहन रकम दिन्छौँ । नवजात शिशु विद्यालय जाने उमेरसम्म खातामा जम्मा भएको रकमले पठनपाठनसँगै भविष्य सुरक्षामा टेवा पुग्छ भन्ने हाम्रो उद्धेश्य हो ।’’ बालबालिकाको स्वास्थ्यसँगै उनीहरुको भविष्यको लागि लगानी गर्न सके त्यसबाट दक्ष जनशक्ति उत्पादन गर्न सकिने गाउँपालिका अध्यक्ष किरण राईले बताए । बालबालिकालाई गर्भमा रहेदेखि उसको उज्वल भविष्यको लागि प्रोत्साहनको कार्यक्रम सञ्चालनमा ल्याएको अध्यक्ष राईको भनाइ छ ।
राज्यले जेष्ठ, एकल महिला, असक्त, असाहय नागरिकलाई सामाजिक सुरक्षा भक्ता दिएपनि नवजात शिशुको लागि भने पौवादुङमा गाउँपालिकाले पहिलो पटक प्रोत्साहनको कार्यक्रम शुरु गरेको अध्यक्ष राईले बताए । ‘‘गरिवी तथा आर्थिक अभावका कारण अव आउने बालबालिका स्वास्थ्य र शिक्षाबाट बन्चित नहुन भन्ने हाम्रो मुख्य लक्ष्य छ’’ अध्यक्ष राईले भने,‘‘गाउँपालिकाले प्रदान गर्ने रकमले उनीहरुको उज्वल भविष्य निर्माणमा टेवा पुग्छ । पाँच वर्षसम्म जम्मा भएको रकमलाई मुद्धती खातामा राखेर उनीहरुको उज्वल भविष्य निर्माणमा लगानी हुनेछ ।’’
गाउँपालिकाले विगतका वर्षबाट नै स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष राईको भनाइ छ । गाउँपालिकाले वर्थीङ सेन्टरबाट रेफर गरिएका गर्भवती, सुत्केरी नवजात शिशुहरुलाई निःशुल्क एम्वुलेन्स सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले महिला तथा नवजात शिशुको स्वास्थ्यलाई ध्यानमा राख्दै विगतका दिनको रातो भाले कार्यक्रमलाई निरन्तरता दिँदै ‘आफैँ पाल्दै आफँै खादै’ कार्यक्रम अन्तर्गत गर्भवती महिलालाई पोथी वितरण ‘अण्डा कार्यक्रम’ सञ्चालनमा ल्याइएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिईन ।
त्यस्तै गर्भवती अवस्थामा आठ पटक स्वास्थ्य संस्थामा र सुत्केरी अवस्थामा चार पटक घरमै स्वास्थ्य जाँच गराउने व्यवस्था मिलाइने उनले बताईन ।‘‘प्रोत्साहनको कार्यक्रमसँगै महिला स्वास्थ्यमा विषेश ध्यान दिएका छौँ’’ उपाध्यक्ष राईले भने,‘‘भावी सन्ततीको स्वास्थ्य जीवनको लागि गर्भवती महिलालाई पोषण कार्यक्रमसँगै स्वास्थ्य परिक्षणमा जोड दिएका छौँ ।’’ गाउँपालिका भित्र रहेका पाँच ओटा वर्थीङ सेन्टरलाई थप व्यावस्थित गर्दै नर्सिङ कर्मचारीलाई रात्रिकालिन भक्ताको व्यावस्था गर्ने जनाइएको छ ।