षडानन्दमा चुलिदो बसाइँसराई


बाबुराम बास्तोला, दिङ्ला । मानिस एक सजीव प्राणी हो । जसका कारणले गर्दा विभिन्न प्रयोजनका लागि उसले आफ्नो बसोवासमा परिवर्तन गर्दछ । यसरी घुमफिर गर्ने क्रममा मानिस देशभित्र तथा बाहिर आफ्ना उद्देश्य र इच्छा पूरा गर्ने आवश्यकता रहने गर्दछन् ।प्राचीन कालबाट नै मानिस एक ठाउँबाट अर्को ठाउँमा सर्दै हिँड्ने गर्दथ्यो ।वर्तमानमा आइपुग्दा समेत यो क्रम चलिरहेको छ ।मानिसहरू मात्र नभई अन्य जीवजन्तुहरू पनि आफ्नो आवश्यकता अनुरूप एक ठाउँबाट अर्को ठाउँमा जाने गर्दछन् । आफ्ना विभिन्न इच्छा र आकाङ्क्षाहरू पूरा गर्ने क्रममा मानिसहरू बसोवासका ठाउँहरू परिवर्तन गरिरहन्छन् । यसरी मानिसले आफ्नो आवश्यकता परिपूर्ति गर्नको लागि गरिने बासस्थान परिवर्तनलाई बसाइसराइ भनिन्छ । मानिसका हिजो र आजका आवश्यकताहरू भिन्नै छन् । हिजो ऊ खानपानतथा आवासका लागि एक ठाउँबाट अर्को ठाउँमा सर्दथ्यो । आज उसका आवश्यकताहरू फेरिएका छन् । त्यसैले बसाइँसराइ पनि फरक कारणले हुने गरेको पाइन्छ ।

भोजपुरको उत्तरी क्षेत्रमा पर्ने षडान्द नगरपालिकाबाट समेत विभिन्न स्थानमा बसाई सरि जाने क्रम तिब्र रुपमा रहेको छ । गाँस वास र कपासका लागि लागि होस या नयाँ अवसर, नयाँ रोजगारी वा जुनसुकै हिसाबले पनि बसाइँसराइ हिजो पनि थियो र आज पनि छ । तर यति फरक छ विगतमा विकासका कार्यक्रम गाउँमा थिएनन् वा कम थिए त्यसले बसाईसाई बढेको थियो तर आज विकासका कार्यक्रम गाउँ गाउँमा पुग्दै गए पनि षडान्नद नगरपालिकालाई समेत बसाईसराईले नमज्जाले गाँजेको छ ।

षडानन्द नगरपालिकाको विभिन्न वडामा दर्ता भएको तथ्याङकलाई हेर्दा२०७६ सालमा ४ सय ४८ जना बसाईसरि जादाँ ७४ जना आएका छन् भने २०७७ सालमा ४०७ जना परिवार सदस्य संख्या जादाँ ८० जना मात्रै आएको तथ्याङक छ । यस्तै २०७८ सालमा २ सय ५७ परिवारका ८ सय ९७ जना बसाईसरि जादा ६९ परिवारका २ सय ३३ जना बसाईसरि आएको तथ्याङक छ । त्यस्तै २०७९ सालमा ३ सय ३२ परिवारका १ हजार १०७ जना बसाईसरि जादा ४७ परिवारका १ सय ४४ जना बसाईसरि आएको तथ्याङक रहेको छ । २०८० सालको जेठ महिनाको २१ गतेसम्म ५० परिवारका १७२ जना बसाँईसरि गएको तथ्याङक छ भने १० परिवारको ३४ जना बसाईसरि आएका छन् । यो दर्ता भएको तथ्याङक हो भने बसाईसराइ दर्ता नगरि तराईका विभिन्न जिल्लामा गई बसोवास गर्नेको संख्या अधिक रहेको छ ।

२०६८ को जनगणना अनुसार षडानन्द नगरपालिकाको कुल जनसंख्या ३४ हजार ३४० रहेकोमा २०७८ सालको जनगणना अनुसार षडानन्द नगरपालिकाको कुल जनसंख्या २९ हजार ३४२ मात्रै रहेको छ । २०७८ सालको जनगणना अनुसार षडानन्द नगरपालिकामा कुल परिवार संख्या ७ हजार ३११ रहेको छ। खासगरी षडानन्द नगरपालिकाको बसाइसराइको प्रवृत्ति तराईका जिल्लामा सर्ने रहेको छ । गाउँघरमै सिंहदरबार र दैलोमा स्थानीय सरकारको नारा चल्दै स्थानीय सरकारको एक कार्यकाल९पाँच वर्ष० पुरा भएर दोस्रो कार्यकालको समेत एक वर्ष व्यतित भई सक्दा स्थानीय सरकारलाई बसाइसराइ गरेर जाने प्रवृत्ति रोक्न चुनौती बनेको छ ।

प्राथमिक विद्यालय, आधारभूत विद्यालय, स्वास्थ्यचौकी, सडक र बिजुली गाउँभरि नै विस्तार भएको र कतिपय विस्तारको क्रममा रहे पनि भनेजस्तो रोजगारीको अवसर सिर्जना नहुँदा बसाइँ सराइ नरोकिएको स्थानीय बासिन्दाहरु बताउछन्। अन्नबालि, फलफूल,तथा अन्य नगदेबालि उत्पादनमा उपयुक्त वातावरण भए पनि निर्वाहमुखी बनेको कृषि पेशा गर्नुभन्दा सहर वा तराई झरेपछि पाइने सानोतिनो रोजगारीका लागि बसाइँसराइ गर्नेको संख्यामा वृद्धि भएको पाउन सकिन्छ । यसका साथै बसाईसराइको मुख्य कारणको रुपमा जंगलि जनावार समेत रहेको पाइएको छ । खेतबारीमा उत्पादनको लागि लगाएका अन्नबालि जंगलि जनावर विशेषगरि बाँदरले नष्ट गर्ने र किसानको लगानी समेत नउठ्ने वातावरण पैदा भएका कारण यस्तो अवस्था आएको बसाईसरि जानेहरु बताउछन् ।

बसाईसराईकोअर्को प्रमुख कारण स्थानीय तहमा नै ठुलो वा सुविधा सम्पन्न अस्पताल नहुनु समेत रहेको छ । जटिल खालका बिरामि पर्दा वा आकस्मिक उपचार गर्नुपर्दा ९जस्तै दुर्घटना, हृदयघात आदि० समेत तत्काल विशेषज्ञ सेवा नपाइने तर सुविधा सम्पन्न तराईका ठाउँहरुमा त्यो सेवा तत्काल पाउने आशामा समेत बसाईसराई जानेको क्रम बढेको हो । बसाईसराई गर्ने बेलामा मानिसहरुले आफू बसिरहेको ठाउँबाट बसाइँसराइ गर्दा कति लागत पर्छ र कति लाभ हुन्छ, तुलनात्मक रूपमा हेर्छ, यसको अर्थ बसाइ सर्दा लागतभन्दा लाभ बढी हुन्छ भन्ने उसलाई लाग्छ भने बसाईसराई रोक्न सकिदैन । कुनै मानिसले फाइदा नदेखेको कुरा अर्कोले फाइदा देख्न सक्छ । यस्तो फाइदा व्यक्तिको सापेक्षता अनुसार फरकफरक पर्न सक्छ ।

कृषि पेशासँगै स्थानीयलाई रोजगारी दिनका लागि सरकारी र निजी क्षेत्रले विभिन्न फर्महरुको संचालन, स्थानीय कच्चा पदार्थबाट सञ्चालन हुने उद्योग स्थापना गरीदिए स्थानीयलाई रोजगारीका लागि बाहिर जाने बाध्यता हटी बसाईसराइ दर समेत घट्न सक्ने जानकारहरु बताउछन् । मुलुकमा संघीयताको अभ्यास सुरुवात भई समानुपानिक विकासको नीतिले काम गरिरहेपनि बसाइँसराइको दरमा कुनै कमी आउन सकेको छैन । षडानन्द नगरपालिकाको पछिल्लो वर्षहरुको अवस्थालाई विश्लेषण गर्द समेत धेरै गाउँमा बिजुली, सडक, खानेपानी, विद्यालय, स्वास्थ्य संस्थाहरुलगायत सुविधा पुगिसकेका छन् तर पनि बसाइँसराइ कम भएको छैन त्यसले स्थानीय तहलाई थप चुनौति थपेको छ ।

गाउँबाट शहरतिर हुने बसाइँसराइ रोकेर त्यसलाई स्थायी बनाइ राख्ने हो भने स्थानीय व्यक्तिहरू पनि सक्रिय हुनुपर्छ।यसका लागि स्थानीय सरकारले आफ्नो अवस्था अनुसार रणनीति तय गर्नुपर्ने हुन्छ । पहिलो कुरा स्थानीय स्रोतअनुसार उद्योगहरू खोल्ने वातावरण बनाइनुपर्छ । त्यस्तै कृषि लगायत पेशालाई व्यावसायिक बनाई त्यसमा पनि लेखा राख्ने प्रणाली विकसित गरिनुपर्छ र कृषकलाई यसो गर्न उत्प्रेरित गर्नुपर्छ । यसो गर्दा स्थानीय तहबाट उत्पादित जनशक्तिले स्थानीय तहमै रोजगारी पाउँछ र केहिहदसम्म बसाईसराईको दर घटन सक्छ ।

यो प्रवृत्ति रोक्न एकीकृत रणनीति नै चाहिन्छ जसले गाउँमा उत्पादन भएको जनशक्ति गाउँमै काम लागोस्, उसले गाउँमै बसेर काम गर्ने वातावरण बनोस् । यस्तो रणनीति बनाउन स्थानीय तहले सक्नुपर्छ । बसाइसराइले सामाजिक, राजनीतिक, सांस्कृतिक, आर्थिक क्षेत्रमा पारेका प्रभावहरूको समयमै विश्लेषण गरी बसाइँसराइलाई व्यवस्थित बनाउन जरुरी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार