भोजपुर, २२ फागुन । यहाँको साल्पासिलिछो गाउँपालिका जिल्लामा स्थानीय भूउपयोग वर्गिकरण गर्ने दाश्रो स्थानीय तह बनेको छ । गाउँपालिकाले नेपाल सरकारको भूउपयोग नियमावली २०७९ अनुसार यहाँको जमिनलाई नौ भागमा विभाजन गर्ने काम सम्पन्न गरेर दोश्रो स्थानीय तह बनेको हो । नेपाल सरकारको नीति अनुसार जमिनको समुचित तथा प्रभावकारी प्रयोग र व्यवस्थापनको लागि स्थानीय भूउपयोगको वर्गिकरण गरेको गाउँपालिकाले जनाएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले २०७८ जेष्ठ २३ गते राजपत्रमा जारी गरेको सूचना अनुसार गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका सम्पूर्ण जग्गाको वर्गिकरण गर्ने काम सम्पन्न गरेको हो । यहाँको कृषियोग्य, वन क्षेत्र, व्यापारीक क्षेत्र, आवशिय, सार्वजनिक क्षेत्र, धार्मिक तथा साँस्कृतिक क्षेत्र, औद्योगिक क्षेत्र लगाएत गरी दश प्रकारमा जग्गाको वर्गिकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव कुमार अधिकारीले जानकारी दिए।
वर्गिकरणको काम सकिएकाले अब गाउँपालिकाको जग्गाको किताकाट गर्न फुकुवा भएको छ । सवै जमिनको वर्गिकरण गरिएकोले जग्गाको खण्डीकरण रोक्न टेवा मिलेको प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ । एक कार्यक्रम मार्फत प्रमुख प्रशासकीय अधिकृत अधिकारीले वर्गीकरण गरिएको प्रत्येक वडाको कित्ता विवरण नापी र मालपोत कार्यालयलाई हस्तान्तरण गरेका छन् ।
‘‘हाम्रो गाउँपालिकाको स्थानीय भूउपयोग वर्गिकरण तयार गरेर सम्बन्धित कार्यालयलाइ हस्तान्तरण गरेको छौँ’’ प्रशासकीय अधिकृत अधिकारीले भने,‘‘ भौगोलिक रुपमा जिल्ला कै विकत स्थानीय तह भएपनि यो काम सक्ने दोश्रो स्थानीय तह बनको छौँ। अव गाउँपालिकाले जग्गाको वर्गिकरणको आधारमा सिफारिससमेत दिन्छ ।’’
नयाँ वर्गिकरण अनुसार यहाँको कुल १९ हजार २९१ हेक्टर क्षेत्र मध्ये वन क्षेत्रमा सबै भन्दा बढी ११ हजार ७१९ हेक्टर, छ हजार ९३२ हेक्टर कृषि, एक सय ९६ नदी जन्य, सार्वजनिक क्षेत्र एक सय ९३ हेक्टर, आवास क्षेत्र दुई २५ हेक्टर, व्यापारिकमा १८ हेक्टर परेको छ । त्यस्तै धार्मिक तथा पुरातात्विक क्षेत्रमा तीन दशमलव १८ हेक्टर रहेको तथ्याङ्कले देखाएको छ ।
भुउपयोग ऐन २०७६ तथा नियमावली २०७९ बमोजिम जग्गालाई स्थानीय आवश्यकताको आधारमा नौ प्रकारमा विभाजन गरिएको गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङले जानकारी दिए । गाउँपालिकाको भौगोलिक विविधता र भूमिको क्षमता उपयुक्तताको आधारमा कृषि क्षेत्र, वन क्षेत्र आवास क्षेत्र व्यवसायिक क्षेत्र औद्योगिक क्षेत्रमा विभाजन गरेको उनको भनाइ छ ।
जग्गाको सम्पूर्ण क्षेत्रको विवरण तयार भएकाले गाउँपालिकाको योजना भावी योजना सञ्चालनमासमेत सहजता हुने गाउँपालिका अध्यक्ष राईले बताए ।‘‘ धेरै समयको मेहनतपछि सरकारको नीति अनुसार यहाँको जमिनको वर्गिकरण गर्न सफल भएका छौँ’’अध्यक्ष राईले भने,‘‘जमिनको वर्गिकरण गरेकोले कार्यालयसँगै स्थानीयलाई सेवा लिन सहज भएको छ । हामीलाई गाउँपालिकाको योजनाहरुको प्राथमिकरण गर्न पनि यसले प्रत्यक्ष लाभ पुग्छ ।’’
भूमी बर्गिकरणको काम सकिसँगै गाउँपालिकाको कित्ताकाँटमा सहजता थपिएको इलाका नापी कार्यालयका निमित्त कार्यालय प्रमुख सुजन विकले बताए । अवको दिनमा गाउँपालिकाले उपलब्ध गराएको वितरणको आधारमा कार्यालयले जग्गा कित्ताकाँट गर्ने उनको भनाइ छ ।
‘‘गाउँपालिकाले आफ्नो क्षेत्रको जमिनको वर्गिकरणको काम सम्पन्न गरेको छ’’ उनले भने, ‘‘अब यो गाउँपालिकाले आवश्यकता र औचित्यको आधारमा जग्गाको किताकाँँट गर्न सक्छ ।’’
जग्गा बर्गिकरणको काम सम्पन्न भएसँगै स्थानीयलाई सहजता थपिएको वडा नं ३ का वडाध्यक्ष विनोद राई बताए। यसबाट जग्गाको किनबेच, अंशवण्डा लगायतमा सहजता भएको उनको भनाइ छ ।
परामर्शदाता प्रतिनिधि आदर्श काफ्ले र महेश भट्टराईले कार्यक्रममा भूमी वर्गीकरणका सम्बन्धि अभिमुखीकरणमा सहजीकरण गरेका थिए । गाउँपालिकाले गरेको यो काम प्रशंसायोग्य रहेको स्थानीबासीले बताएका छन् ।