हिले–उत्तरपानी –छिन्ताङ– त्रिवेणी सडक निर्माणको काम तीव्र


मनिराज पौडेल, भोजपुर ११ जेठ ।
कालोपत्र गर्ने लक्ष्यका साथ निर्माण भईरहेको हिले–उत्तरपानी –छिन्ताङ– त्रिवेणी १० किलोमिटर सडक निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालय भोजपुर अन्तर्गत कोशी प्रदेश सरकारको २९ करोड ७२ लाख ९८ हजार ६३ रुपैयाँ लागतमा सडकको निर्माण थालिएको हो ।
सडकको आवश्यक स्टकचर निर्माणको काम सम्पन्न भएको छ ।

यो साताबाट पहिलो चरणमा पाँच किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । निर्माण भइरहेको सडकको पूर्वाधार विकास कार्यालयले स्थलगत अनुगमनसमेत गरेको छ । सडकलाई गुणस्तरिय तवरबाट समयमा सम्पन्न गराउने उद्धेश्यका साथ काम भईरहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले बताए ।‘यो सडक निर्माणको काम तीव्र गतिमा अघि बढेको छ’ प्रमुख महतोले भने ‘ अबको केहि दिनभित्र पहिलो चरणको कालोपत्र शुरु गर्ने योजना छ । हालसम्म यसको ७० प्रतिशत भौतिक प्रगति भएको छ ।’

यो सडक खण्डको १० किलोमिटर मध्ये यो आर्थिक वर्षमा पाँच किलोमिटर सडक कालोपत्र हुने कार्यालयले जनाएको छ ।सडकको आवश्यक स्टक्चरको काम सम्पन्न गरेर कालोपत्र गर्ने अन्तिम चरणमा रहेको निर्माण कम्पनी रायामाझी,आजाद जेभीले जनाएको छ । यसअघि हड्तालका कारण केहि समय क्रसर उद्योग बन्द भएको कारण काममा केहि ढिलाई भएको कम्पनीको भनाइ छ । अबको एक हप्ता भित्र पहिलो चरणको कालोपत्र शुरु गर्ने कम्पनीका प्रतिनिधि प्रेमकुमार मल्लले बताए । ‘सडक निर्माणको कामलाई तीव्र गतिमा अघि बढाएको छौँ’ उनले भने भने,‘कालोपत्रको आवश्यक सामग्रीसँगै प्लान्ट जडानको काम सकिएको छ । बीचमा कुनै आकस्मिक समस्या आएन भने पौष महिना भित्र सम्पन्न गछौँ ।’

निर्माण भइरहेको उक्त सडकको नियमित अनुगमन भईरहेको कार्यालयले जनाएको छ । आस्फाल्ड प्रविधिमा पाँच सेन्टिमिटर मोटाइमा कालोपत्र हुने सडकको गुणस्तरमा विषेश ध्यान दिएको कार्यालयले जनाएको छ । निर्माण कम्पनीले इन्जिनियरको प्रत्यक्ष निग्रानीमा काम गरिरहेको कार्यालयका ल्याब टेक्निसियन रिपुुकुमार पाण्डेले बताए । ‘सडकको गुणस्तरमा हामीले विषेश ध्यान दिएका छौँ’उनले भने,‘यहाँ प्रयोग हुने सामग्रीको ल्याब परीक्षण गरेर मात्र निर्माण कम्पनीलाई प्रयोगको अनुमति दिएका छौँ ।’
वर्षातको समयमा यो सडकमा यातायात सञ्चालमा समस्या हुने गरेको थियो । हिलेदेखि त्रिवेणीसम्म करिब २६ किलोमिटर सडकमध्ये १० किलोमिटर कालोपत्र गर्ने लक्ष्यले वि.स. २०७८ असोजमा यो सडकको शिलान्यास गरिएको थियो । सडकको विस्तारले गतिलिएपछि स्थानीय उत्साहित भएका छन् । यो सडक सम्पन्न भएपछि सहज आवात जावतसँगै कृषि उपजको बजारीकरणमा सहजता थपिने स्थानीयबासीको भनाइ छ । सडकले यहाँका तीन वटा बढी स्थानीय तहका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने स्थानीयबासी गजम घिसिङले बताए ।

‘सडक विस्तारले गतिलिएसँगै हामीमा उत्साह थपिएको छ’ उनले भने,‘ कालोपत्र बनेपछि वर्षौबाट स्थानीयले भोग्दै आएको सास्तीको अन्त्य हुनेछ भने यहाँका कृषि उजपको बजारीकरणमासमेत सहजता थपिने छ ।’आस्फाल्ड प्रविधिबाट निर्माण भईरहेको यो सडक साढे पाँच मिटर चौडाई र पाँच सेन्टिमिटर बाक्लो कालोपत्र हुने कार्यालयले जनाएको छ । सडक २०७९ चैतमा सम्पन्न गर्नु पर्ने सम्झौता भएपनि विभिन्न कारणले काममा सोचे अनुसार प्रगति नभएपछि म्याद थप गरिएको हो । थप भएको म्याद २०८० पौष ६ गतेसम्म रहेको छ । गत चैत महिनाबाट नौ महिना म्याद थप भएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार