षडानन्दमा सम्बन्ध विच्छेदको ग्राफ बढ्दो


बाबुराम बास्तोला ७ जेष्ठ दिङ्ला । भनिन्छ, लोग्नेस्वास्नीको झगडा परालको आगो हो । छिट्टै बल्छ र एकैछिनमा निभ्छ । साना तिना कुरामा तर्क वितर्क हुँदा पनि त्यसले एउटा विवादको रूप लिन सक्छ । यी र यस्तै खालका विवाद सही तरिकाले समाधान गर्नुको साटो आ आफ्नै विचारमा अडिग रहेमा विवादले उग्र रूप लिई सम्बन्ध विच्छेदको गलपासोमा फसिन्छ ।सम्बन्धविच्छेद भनेको श्रीमान श्रीमती बीचको बैवाहिक नाता सम्बन्ध कानूनी रूपमा अन्त्य हुनु हो ।
भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिकामा अहिले सम्बन्ध विच्छेद विकराल समस्याको रूपमा देखा पर्न थालेको छ । षडानन्द नगरपालिका अन्तरगतका १४ वटा स्थानीय पञ्जीकाधिकारीहरुको कार्यालयमा सम्बन्ध विच्छद दर्ताको प्रमाणपत्र पाउँ भनेर पुग्नेहरुको संख्या दिन प्रतिदिन तीव्र रूपमा बढिरहेको छ ।
षडानन्द नगरपालिकाकाको स्थानीय पञ्जीकाधिकारीहरुको कार्यालयमा दर्ता हुने व्यक्तिगत घटना दर्ता मध्ये सम्बन्ध विच्छेदको तथ्याङ्कलाई हेर्दा वर्षेनी यो दर बढेको देखिन्छ । तथ्याङक अनुसार षडानन्द नगरपालिकामा २०७६ सालमा सम्बन्ध विच्छेदका घटना दर्ता ३ वटा भएका देखिन्छन् । त्यस्तै २०७७ सालमा ७ वटा, २०७८ सालमा १५ वटा र २०७९ सालमा ४३ वटा सम्बन्ध विच्छेदका घटना दर्ता भएका छन् भने २०८० सालको जेठ ५ गतेसम्म मात्रै ६ वटा सम्बन्ध विच्छेदका घटना दर्ता भईसकेका छन् । यो तथ्याङक विभिन्न अदालतहरुले सम्बन्ध विच्छेदको फैसला गरिसकेपछि स्थानीय पञ्जीकाधिकारीको कार्यालयमा आएर प्रमाणपत्र लिनेहरुको तथ्याङक मात्रै हो ।
नेपालमा सम्बन्ध विच्छेदको प्रावधान प्राचीन समय देखि नै रहेको पाईन्छ । औपचारिक रूपमा भने वि। सं। १९१० को मुलुकी ऐनमा यस सम्बन्धी व्यवस्था रहेको थियो । उक्त व्यवस्था नयाँ मुलुकी ऐन २०२० मा पनि गरी लागु गरिएको थियो । २०७४ साल सम्म महिलाले मात्र सिधै अदालतमा सम्बन्धविच्छेदको लागि निवेदन दिन पाउने व्यवस्था रहेकोमा मुलुकी देवानी संहिता २०७४ लागू भएपछि पुरुषले पनि सम्बन्ध विच्छेदको लागि निवेदन दिन पाउँछन् ।
सम्बन्ध विच्छेदका घटना बढ्नुमायहि एउटा कारण भन्ने छैन । खासगरी श्रीमान्–श्रीमतीबीच विश्वासको वातावरण बन्न नसक्दा विच्छेदको स्थिति आउने हो । मानिसहरूमा बढ्दो चेतनाको स्तरले अन्याय नसहने र स्वतन्त्रता खोज्ने क्रम पनि बढ्दो छ । जुन स्वयम् व्यक्ति र समाज दुवैका लागि सकारात्मक पक्ष हो । तर, कतिपय सामान्य समझदारीमै हल गर्न सकिने समस्या पनि अदालतसम्म पुगेर परिवारै विखण्ड हुने अवस्थामा आउनु भने पक्कै राम्रो होइन । यसले व्यक्ति, परिवार र समाज कसैको हित गर्दैन । पारिवारिक मनमुटावका कारण पनि विच्छेद जस्तो अप्रिय निर्णयमा पुग्ने गरेका घटनाका प्रशस्त उदाहरण छन् । सामान्य पारिवारिक खटपटको व्यवस्थापन गर्न नसक्दा सम्बन्ध विच्छेदकै स्थितिमा पुग्ने गरेको पाइन्छ ।
श्रीमान्–श्रीमतीको सम्बन्ध विच्छेदले परिवारमा समेत प्रतिकूल प्रभाव पारिरहेको छ । पारिवारिक खटपट भए पनि यसअघि सम्बन्ध विच्छेदमा महिलाहरू मात्रै अग्रसर हुन्थे । पछिल्लो समयमा पुरुषहरूले पनि सम्बन्ध विच्छेदका लागि धमाधम उजुरी दिन थालेका छन् । कानुनले प्रक्रियामा सहज बनाएपछि पत्नीपीडित पुरुषहरू पनि सम्बन्ध विच्छेदमा अग्रसर देखिने गरेका हुन् । सम्बन्ध विच्छेद मात्र समस्याको समाधान पक्कै होइन । सँगसँगै जिउने संकल्प गरे विवाह बन्धनमा बाँधिएका जोडीहरू झिना मसिना कारणले नै सम्बन्ध विच्छेदको बाटोसम्म पुग्नु कदापि राम्रो होइन । त्यसैले आवेगमा आएर निर्णय गर्नुभन्दा सकभर सुझबुझ र समझदारीका साथ समस्या निराकरण गर्नतर्फ लाग्नु नै बढी बुद्धिमानी ठहरिन्छ ।हामीले आफ्नो एकहटपन र जिद्दी पन त्यागेर सकारात्मक मनस्थिति बनाई समस्याको वास्तविक समाधान पनि त निकाल्न सक्छौ । कुनै पनि समस्या आफैमा ठुलो हुँदैन । त्यसलाई हेर्ने तरिकामा भर पर्दछ । हरेक समस्याका पछाडि समाधान पक्कै हुन्छ ।हाम्रो एउटा सानो गल्ती र हताश मनस्थितिमा गरिएको निर्णयले पारिवारिक संरचना र भावी जीवनमा के कस्तो असर र प्रभाव पर्दछ भन्ने कुरा सोच्न जरुरी छ ।
सम्बन्ध विच्छेदको बाटो नै उपयुक्त विकल्प देखी यस्तो बाटो रोज्ने प्रवृत्ति र कुचेष्टाले निजहरू स्वमयलाई असर त पर्छ नै, त्यो भन्दा बढी असर भर्खर जन्मेका ती कलिला बालबालिकाहरूमा पर्न जान्छ । भनिन्छ, बालबालिकाको पहिलो पाठशाला भनेको घर हो र पहिलो शिक्षिका भनेको आमा हुन । आमा बुवाको न्यानो माया, स्याहार सुहार, पालनपोषण र शिक्षा पाएमा बालबालिकाहरू सभ्य बन्दछन् र सही बाटोमा केन्द्रित हुन्छन् र त्यसो भयो भने तिनीहरूको उज्ज्वल भविष्यको परिकल्पना गर्न सकिन्छ, तर त्यसो भनाई आमा बुवा बिचको सम्बन्ध विच्छेदको गलपासोमा यदि ती कलिला बालबालिका पनि फसे भने तिनीहरूको भविष्य नै अन्धकार त हुन्छ नै, त्यो सँगै अभिभावकको माया प्रेम, निर्देशन र नियन्त्रणको अभावमा कुलत र कुसंस्कारको बाटोमा लागी समाज र राज्यको लागि कलङ्क बनी बोझ हुन सक्दछन् ।
मानव भएर जन्मिसकेपछि मानवीय मुल्य, मान्यता र पहिचान सँगै आफ्नो कर्तव्यप्रति समेत सचेत हुन आवश्यक छ । कुनै व्यक्तिले आफ्नो जीवनमा गरेको निर्णय र चालेको कदमले अन्य व्यक्तिहरूको मानव अधिकार उल्लङ्घन भइरहेको त छैन, तिनीहरूको स्वतन्त्रता र भविष्य माथि कुनै खेलबाड त भइरहेको छैन रु यो कुरामा गम्भीर हुन जरुरी छ ।
उम्लिँदो रगतऽएकैछिनको आवेग सँगै हताश मनस्थितिमा गरिएको अपरिपक्व निर्णय र चालिएको गन्तव्यहीन यात्राले आफूलाई त डुबाउँछ नै तर त्यसको प्रत्यक्ष असर ती कलिला बालबालिकाहरूलाई समेत परिरहेकोतर्फ सचेत हुन आवश्यक छ । हो यस्तै विडम्बना अहिले हाम्रो समाजमा देखा परिरहेको छ ।वैवाहिक जीवन व्यतीत गरेको वर्षौं बितिसकेपछि पनि सानातिना मनमुटावकै निहुँमा सम्बन्ध–विच्छेद गर्न हतारिने पश्चिमा संस्कृतिको देखासिकीले हाम्रो पारिवारिक मेल र सामाजिक सद्भाव खलबलिँदै छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार