भोजपुर, ९ मंसिर । भोजपुरबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका सुदन किराती निर्वाचित भएका छन् । बिहीबार राति सकिएको मतगणना अनुसार किरातीले २८ हजार ५७८ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेरधन राईले २६ हजार १९३ मत पाए । सुदनले दुई हजार ३८५ मतान्तरले चुनाव जितेका हुन् । सुदन र शेरधनबीच भोजपुरमा यो तेस्रो प्रतिस्पर्धा हो ।
यसअघि शेरधनलाई सुदनले ६४ को संविधानसभा निर्वाचनमा पराजित गरेका थिए । दोस्रो संविधानसभामा शेरधन विजयी भए । ७४ मा वाम गठबन्धनबाट सुदन संघमा र शेरधनले प्रदेशमा जितेका थिए । २०४८ सालसहित भोजपुरबाट ह्याट्रिक गरिसकेका शेरधन राईको चौथो जितमा यसपटक ब्रेक लागेको छ ।
प्रदेशसभातर्फ १ मा नेकपा एसका सचिव एवं मुख्यमन्त्री राजेन्द्रकुमार राई र २ मा कांग्रेस जिल्ला सभापति विनोद बान्तवाले जितिसकेका छन् ।